ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लबलाई सम्मान गरेको छ।
ललितपुरमा आइतबार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लबलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो।
उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए। ललितपुरले शिर्ष डिभिजनका पाँच क्लब थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लबलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो।
विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लब ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए।
चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो। चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए।
बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लब च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन्। ललितपुर महानगरले ‘सी’ क्लबलाई भने समान दुई लाख प्रदान गरेको थियो।
ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोर्टस्, झम्सीखेल युथ र सानेपा क्लबलाई पनि सम्मान गरिएको थियो।
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शिर्ष डिभिजनमा पुग्ने क्लबलाई २० लाख रुपैयाँ दिन बताए। उनले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गरे।
फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गरे। उनले आगामी वर्ष ‘ए’ डिभिजन क्लबमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिक रूपमा तलवको व्यवस्था गर्ने बताए।
एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भुमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे।
Shares

प्रतिक्रिया