प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु भएको छ। काठमाडौँको भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा बुधबारदेखि यसवर्षको प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफी आयोजना हुँदै आएको छ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरे। प्रतियोगितामा एथलेटिक्स, स्वीमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन्।
उद्घाटन समारोहमा पृतना तथा बाहिनीका टिमहरूले विभिन्न खेल कला प्रस्तुत गरेका थिए। प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, पूर्वप्रधान सेनापतिहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीहरू, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृतलगायतको उपस्थिति थियो।



Shares

प्रतिक्रिया