आईसीसी टि-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्सको दोस्रो खेलमा नेपालले जितका लागि कतारसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ६२ रनको साझेदारी गर्दै नेपालको ईनिङ्स सम्हालेका थिए। कप्तान पौडेलले सर्वाधिक ५८ रन बनाए। उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरी २६ रन बनाउँदा क्याच आउट हुन पुगे भने गुल्सन झा १६ रनमा बोल्ड आउट भए। सोमपाल कामी १४ रनमा रनआउट भए।
ओपनर आशिफ शेख ११ र कुशल भुर्तेल ६ रन बनाउँदा मोहम्मद शेखको बलमा क्याच आउट हुन पुगे। कुशल मल्ल ८ रन बनाउँदै पेभेलियन फर्के। मोहम्मद आदिल आलम २ तथा सन्दिप जोरा १ रनमा आउट भए।
कतारका लागि डानियल आर्चर र मिर्जा मोहम्मदले समान ३ विकेट झारे। मोहम्मद असिम र वाइज अहमदले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन्। लेग स्पीनर ललित राजवंशीको स्थानमा अल राउन्डर आदिल अलाम सुरुवाती ११ मा आएका छन्।
नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो। नेपालले आजको खेलमा कतारलाई हराउँदै लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउन चाहन्छ।
कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
Shares

प्रतिक्रिया