खेल


राज्यको बेवास्ताबीच विश्व कराँते च्याम्पियनसिपको तयारीमा सानुमाया

राज्यको बेवास्ताबीच विश्व कराँते च्याम्पियनसिपको तयारीमा सानुमाया

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १२:१६, काठमाडौँ

गत महिना नेपाल तेस्रोपटक आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा देशभर उत्सव मनाइएको थियो। क्रिकेट टोलीको सफलतामा सरकारले खेलाडीलाई पुरस्कार दिने घोषणा गर्दै थप उत्साह थप्यो। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कृत गर्ने निर्णय पनि गर्‍यो। यस्तो प्रोत्साहन खेल विकासका लागि सकारात्मक कदम हो, तर राज्यको दृष्टि सबै खेलमा समान छैन।

लोकप्रिय खेलमा मात्र लगानी गर्ने राज्यको प्रवृत्तिले अन्य खेलका खेलाडी निराश छन्। खासगरी जनचासो कम भएका खेलहरूमा राज्यको ध्यान नगन्य हुन्छ। त्यही अवस्थाबीच कराँतेकी सानुमाया थिङ विश्व कराँते च्याम्पियनसिपको तयारीमा जुटेकी छिन्।

आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने विश्व च्याम्पियनसिपमा सानुमाया नेपालको एकमात्र प्रतिनिधि हुनेछिन्। विश्व वरीयताका आधारमा छनोट भएकी उनी नेपाली कराँते इतिहासमा पहिलोपटक विश्व च्याम्पियनसिप खेल्ने खेलाडी बनेकी छन्।

पहिले सिधै खेल्न पाउने प्रावधान थियो, तर अहिले विश्व वरीयता र छनोट चरण पार गर्नुपर्ने नियम लागू छ। केही महिनाअघि सानुमाया विश्वका उत्कृष्ट २४ खेलाडीमध्ये परेपछि सिधै छनोट भएकी हुन्।

तर उनको तयारीमा राज्यले कुनै सहयोग गरेको छैन। प्रशिक्षण खर्चदेखि अन्तर्राष्ट्रिय म्याच एक्सपोजरसम्मका सबै पक्षमा उनी एक्लै जुटेकी छन्। प्रशिक्षक मण्डेकाजी श्रेष्ठले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउने प्रयास गरे पनि सफल भएनन्। त्यसैले सानुमाया अहिले देशमै कडा प्रशिक्षणमा छिन्।

उनले भनिन्, ‘राज्यको लगानी नभए पनि आत्मविश्वास ठूलो छ। यसपटक देशकै माटोमा गरेको अभ्यासका भरमा पदक जित्ने विश्वास लिएको छु।’

सानुमायाका अनुसार प्रशिक्षक मण्डेकाजीले कमजोर पक्ष सुधार्न लगातार प्रेरित गरिरहेका छन्। ‘हामी हरेक दिन फिटनेस, ब्यालेन्स र समयतालिकामा ध्यान दिइरहेका छौं,’ प्रशिक्षक श्रेष्ठले बताए।

सानुमायाले एशियन कराँते फेडेरेसनको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्व वरीयतामा उल्लेखनीय सुधार गरेकी थिइन्। त्यसैको आधारमा उनले विश्व च्याम्पियनसिपको टिकट पाएकी हुन्।

उनको भनाइ छ, ‘एशियन गेम्स खेल्ने सपना थियो, तर विश्व च्याम्पियनसिपको छनोटले आत्मविश्वास अझ बढाएको छ। अहिले पदकका लागि पूरा ध्यान प्रशिक्षणमै केन्द्रित छ।’

प्रशिक्षक मण्डेकाजीका अनुसार, ‘सानुमायाले पछिल्लो एक वर्षमा ठूलो सुधार देखाएकी छिन्। एशियन च्याम्पियनसिपमा तीन बाउट जित्दै उनले आफ्नो क्षमता प्रमाणित गरिन्। मेडल बाउटमा चुक भए पनि प्रदर्शन उत्कृष्ट थियो।’

उनले थपे, ‘अब हाम्रो लक्ष्य विश्व च्याम्पियनसिपमा पदक जित्नु मात्र होइन, सन् २०२६ को एशियन गेम्सका लागि पनि सक्षम खेलाडी तयार गर्नु हो।’

राज्यको बेवास्ताबीच पनि सानुमाया उत्साह, आत्मविश्वास र मिहिनेतका साथ विश्वस्तरको तयारीमा छन्। उनको मिसन स्पष्ट छ -‘मिसन २६’ का लागि छनोट र ऐतिहासिक पदक जित्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad