सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याटर विनोद भण्डारीले राष्ट्रिय टोलीमा छनोटका लागि नभएर आफ्नो टोलीलाई जिताउनका लागि खेलिरहेको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको छ। जसमा भण्डारीले महत्त्वपूर्ण ६९ रन बनाएका थिए।
खेलपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले आफूलाई छनोटसँग मतलब नभएको बताए। विगतमा आफूले एनपीएल र प्रधानमन्त्री कपमा राम्रो खेल्दा पनि राष्ट्रिय टोलीमा छनोट नभएको उल्लेख गर्दै विनोदले भने, ‘सेलेक्सन मेरो हातमा छैन। कसैले सेलेक्सन गरे पनि, नगरे पनि मैले खेल्ने नै हो।’
एनपीएललाई आफूले राष्ट्रिय टोलीका लागि छनोट खेलका रुपमा नलिएको उनको भनाइ थियो। ‘मैले सेलेक्नका रुपमा लिएको छैन। राम्रो खेल्न खोज्ने नै हो। जति खेल्छु, त्यति इन्जोय गरेर खेल्छु,’ उनले भने।
एक अर्को प्रश्नको जवाफमा विनोदले अहिले फाइनल खेलका विषयमा नसोचेको बताए। ‘हामी कसरी राम्रो गर्ने भन्ने सोचिरहेका छौं। फाइनल पुग्नुपर्छ भनेर खेल्यो भने प्रेसर हुन्छ। त्यसैले अहिलेको खेलमै केन्द्रित छौं,’ उनले भने।
विदेशी खेलाडीसँग खेल्दा दबाब नहुने गरेको उनको भनाइ थियो। विनोदले भने, ‘विदेशी खेलाडीसँग खेल्दा हिटिङ गर्नुपर्छ भन्ने प्रेसर हुँदैन। उनीहरूले हिटिङ गर्छन्। नेपालीसँग खेल्दा कतिवेला हिटिङ गर्ने भनेर भनेर सोच्नुपर्छ।’
अहिलेसम्म आफ्नो टोली राम्रो खेलेको उनको भनाइ थियो। टोली लगातार जित हासिल गर्दा दबाबविना खेल्न सजिलो भइरहेको उनले बताए।
Shares

प्रतिक्रिया