खेल


चितवनको ब्याटिङ नचल्दा काठमाडौँको सहज जित

चितवनको ब्याटिङ नचल्दा काठमाडौँको सहज जित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १२, २०८२ शुक्रबार १५:१८, काठमाडौँ

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार काठमाडौँले चितवनलाई ५३  रनले पराजित गरेको हो। एनपीएलको पाचौँ खेलमा काठमाडौँले तेस्रो जित दर्ता गरेको छ। 

तीन खेलमा जित र दुई खेलमा हार भोगेको काठमाडौँ ६ अंकसहित तेस्रो स्थानमा उक्लेको छ। जितसँगै काठमाडौँको ‘प्लेअफ’ खेल्ने सम्भावना बलियो बनेको छ।  

काठमाडौँले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै एनपीएलको सुरुवात गरेको थियो। दोस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग २९ रनले र तेस्रो खेलमा विराटनगर किंग्ससँग पाँच विकेटको हार व्यहोरेको थियो।

त्यस्तै, चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो। आजको जितसँगै काठमाडौँले लगातार दोस्रो जित हासिल गरेको हो।

लिग चरणका चारमध्ये दुई खेलमा जित र दुई खेलमा हार भोगेको चितवन भने चार अंकसहित चौथो स्थानमा झरेको छ। हारसँगै चितवनले प्लेअफमा पुग्न संघर्ष गर्नुपर्नेछ। 

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगरलाई भने ४८ रनले हराएको थियो। 

शुक्रबार काठमाडौले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो। चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ रन बनाए। सोहेल तनविरले १८ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

चितवनलाई कम स्कोरका रोक्न काठमाडौका रसिद खानले तीन विकेट झारे। करण केसी, मिलिन्द कुमार, साहब आलमले समान दुई विकेट लिए। सन्तोष यादवले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँ दुई बल बाँकी छँदै सबै विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो। 

चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौँले सम्मानजनक योगफलतर्फ उन्मुख भएको थियो। तर, रवि बोपाराले साझेदारी तोडेपछि काठमाडौँको लगातार विकेट पतन भयो। 

१६औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाउँदा रवि बोपारको बलमा बोल्ड आउट भए। मिलिन्दले ४३ बलमा पाँच चौका प्रहार गरे। 

त्यस्तै, १७औँ ओभरको पहिलो बलमा जोन ६० रन बनाउँदा कमलसिंह ऐरीको बलमा सैफ जैबको हातबाट क्याच आउट भए। जोनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गरेका थिए। 

काठमाडौँ एक समय ४.२ ओभरमा तीन विकेट गुमाएर २४ रनमा थियो। त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले इनिङ्स उकासेका थिए। काठमाडौँले ११ रन जोड्न ६ विकेट गुमायो। 

ओपनर वेन चार्ल्सवर्थ १४ बलमा दुई चौका सहयोगमा १३ रन बनाउँदा सोहेल तनविरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

चितवनका लागि सोहेल तनविरले चार विकेट लिए। सोहेलले १८औँ ओभरमा लगातार तीन विकेट लिएपछि काठमाडौँको ब्याटिङ लाइन धरापमा पर्‍यो। सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे। 

रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट झारे। रवि बोपाराले एक विकेट लिए। 

आजै अर्को खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्नेछन्। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ। 

प्लेअफ खेल्ने सम्भावना कायम राख्न कर्णालीलाई जित आवश्यक छ। आजको खेलमा कर्णाली पराजित भए प्लेअफ सम्भावना कमजोर हुनेछ। 

विराटनगर भने कर्णालीलाई हराउँदै चौथो जितसँगै प्लेअफ नजिक पुग्न चाहन्छ। तीन खेलमा जित र एक खेलमा हार भोगेको विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। कर्णालीले भने दुई खेलमा हार र एक खेलमा जित निकाल्दै दुई अंकसहित तालिकाको पाचौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad