काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीले आउँदा खेलमा यो पिचमा ब्याटिङ गर्न सबै टोलीलाई मुस्किल हुने बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार काठमाडौँले १४२ रन बनाएको थियो। जवाफी ब्याटिङमा चितवन राइनोज ८९ रनमै समेटियो। पछिल्लो खेलमा ब्याटिङ गर्न कठिन भइरहेको छ भने ठूलो स्कोर बन्न सकेको छैन।
खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक शाहीले खेल हुँदै जाँदा पिच गाह्रो हुँदै जाने बताए। दुई दिनअघि १७५ रन बनाएको चितवन आज ८९ रनमै समेटिएको विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक शाहीले पिच कठिन हुँदै गएको बताए। ‘प्रतियोगितामा जति पछिपछि हुँदै जान्छ, त्यति नै विकेटले सबै टिमलाई मुस्किल बनाउँछ,’ शाहीले भने, ‘अब आउने दिनमा यो पिच मुस्किल हुन्छ।’
आज काठमाडौँले पिच हेरेरै खेलेको उनको भनाइ थियो। ‘आज सुरुवात राम्रो भए पनि आकाश त्रिपाठी रन आउट भएपछि धरमराएका थियौं,’ उनले भने, ‘पछि रन बनाउन खोज्दा विकेट गएको हो। अन्तिममा त हामी एक–दुई रन लिएर पनि टिकिराखौं भन्नेमा पुग्यौं।’
मिलिन्द कुमार र जोन सिमसमको साझेदारी नै जित दिलाएको उनको भनाइ थियो। अब बाँकी दुवै खेल जितेर शीर्ष दुईमा पुग्ने कोसिस हुने उनले बताए। शाहीले भने, ‘तेस्रो जित भयो भन्दैमा ढुक्क बस्नु पनि हुँदैन। अब सबै खेल जितेर अंक तालिकामा पहिलो हुने योजनामा छौं।’
अहिले काठमाडौँ अंक तालिकामा तेस्रो स्थानमा छ। काठमाडौँ र विराटनगर किंग्सको समान ६ अकं छ। सुदूरपश्चिम रोयल्स आठ अंकसहित शीर्षस्थानमा छ।
यो पनि पढ्नुहोस् : चितवनको ब्याटिङ नचल्दा काठमाडौँको सहज जित
Shares

प्रतिक्रिया