प्रियांक पञ्चाल र विलियम वसिस्टोको उत्कृष्ट साझेदारीमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा एक सय ६० रनको योगफल तयार पारेको हो। दोस्रो विकेटका लागि ओपनर प्रियांक र विलियमले ९६ रनको साझेदारी गरे। प्रियांक ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाउँदा रन आउट हुन पुगे।
विलियम ४८ रनमा नटआउट रहे। उनले ४८ बलमा दुई चौका प्रहार गरे। नजिबुल्लाह जड्रान पाँच बलमा एक छक्काको सहयोगमा १२ रनमा अविजित रहे।
अर्का ओपनर मार्क वाट ६ रन बनाउँदा मर्चेन्ड लि लाङ्गेको बलमा जर्ज मुन्सेको हातबाट क्याच आउट हुन पुगे। १० बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाएका गुल्सन झा सन्दीप लामिछानेको बलमा एलबीडब्लुको धरापमा परे।
विराटनगरका लागि मर्चेन्ट र सन्दीपले एक–एक विकेट लिए। विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया