खेल


महिला भलिबलका यी ‘कुमार सर’, जो अब अन्तर्राष्ट्रिय च्याम्पियन बन्ने दाउमा छन् (भिडिओ)


लक्ष्मी जि.सी
माघ २४ , काठमाडौँ

‘देशले नभुल्ने एउटा अन्तर्राष्ट्रियस्तरको खेलाडी तयार गर्ने सपना लिएर अघि बढेको छु।’

झण्डै सात वर्षअघि न्यु डायमन्ड युथ स्पोर्टस क्लबका मुख्य प्रशिक्षक कुमार राईले नेपालखबरलाई आफ्नो सपना सुनाएका थिए। 

सात वर्षपछि अहिले उनको सपना साकार भएको छ। राईले देशका लागि धेरै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन्।

राष्ट्रिय भलिबलका अहिलेका चिरपरिचत नामहरु उनकै प्रशिक्षणका प्रतिफल हुन्। प्रतिभा माली, सलिना श्रेष्ठ, प्रगती नाथ, सुमित्रा रेग्मी, रिमा कुँवरलगायतका यी खेलाडी उनकै प्रशिक्षणले निखार पाई राष्ट्रका लागि खेलिरहेका छन्। 

त्यसो तर नेपालको उमेर समूहमा खेल्ने सलिना बुढामगर, जेनिसा विश्वकर्मा, सम्झना नेपाली, निशा महर, एन्जिला प्रधान, भावना तामाङ, रेविका लामा तामाङ, सुनिता खत्री, एलिसा मानन्धर पनि राईले नै तयार पारेका राष्ट्रिय प्रतिभा बन्दै छन्। 

त्यसअघि रमिला तण्डुकार, कृपा अधिकारीलगायतका खेलाडीलाई राईले नै प्रतिभा भरिदिएका हुन्। राष्ट्रिय टोली धान्ने खेलाडी तयार पारिसकेपछि प्रशिक्षक राई घरेलु मैदानमा पनि डायमन्डलाई चम्काइरहेका छन्। 

डायमन्डले पछिल्लो समय मात्र लगातार तीन उपाधि जितेको छ। त्यो पनि एक सेट पनि नगुमाई। डायमन्डलाई अब्बल बनाउँदा उनले विभागीय टोलीको दबादबालाई तोडिदिएका छन्। महिला भलिबलमा न्यु डायमन्ड अहिले चम्किरहेको छ। यो सबैको श्रेयको मुख्य हकदार कुमार राई नै हुन्। 

‘खेलाडी उत्पादन सजिलो छैन, कतिपय मान्छेले सामान्य उकालो त चढ्न सकेको छैन’, यो सफलताको यात्रामा लम्केका राई भन्छन्, ‘सगरमाथा पनि सबैले चढ्न सक्दैनन्, सीमित मान्छेले मात्र चढ्न सक्छन्। यो खेलाडी बनाउने कुरा पनि यस्तै हो। सजिलै कसैले खेलाडी बनाउन सक्ने कुरा हैन। उसले त सक्यो, मैले पनि सक्छु भनेर हुँदैन। देख्दा सजिलो छ तर वास्तविक धरातलमा गर्न गाह्रो छ।’ 

त्यसो त उनी सजिलै यहाँ आइपुगेका होइनन्। यसका लागि हजारौँ पटक मरेको महसुस गरेको बताउने राई सफलता प्राप्त हुने आशमा लागिरहँदा यो स्थानमा आइपुगेका व्यक्ति हुन्। 

‘उकालो चढ्दा चिप्लेर कयौँ पटक तल झरेको छु तर उकालो चढेँ भने राम्रो दृश्य देख्न पाउँछु भनेर लागिपरिरहेको हो’, सफलताको रहस्य खुलाउँछन् राई।  

उनी सकारात्मक सोच लिएर अघि बढे जीवनमा सफलता हात पार्न सकिनेमा विश्वस्त छन्। 

डायमन्डले अहिले पाएको सफलतालाई उनले आशा गरेका थिएनन्। डायमन्डले विद्यालयको मैदानबाट भलिबल प्रशिक्षण सुरु गरेको थियो।

अहिले क्लबको आफ्नै भवन छ, भलिबल सिक्ने ठूलो कोर्ट छ। तर अहिले त्यही कोर्ट पनि डायमन्डलाई साघुँरो बन्दै गएको राई बताउँछन्। 

उनका अनुसार डायमन्डले भलिबलबाट गरेको आम्दानी खेलाडीमा नै खर्च गर्दै आइरहेको छ। खेलाडीलाई पारिश्रमिक दिन थालेको छ। अहिले राष्ट्रिय टोलीका खेलाडीले मासिक ५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन्। त्योभन्दा बढी पारिश्रमिक डायमन्डका खेलाडीले पाउँछन्। अहिले क्लबमा पनि केही रकम जम्मा भएको छ। 

‘सुरु गर्दाको भलिबलभन्दा अहिलेको भलिबलमा आकाश जमिनको फरक छ’, उनले सुनाए, ‘भलिबल प्रेमीको सुनौलो दिनको लागि लडाइ लडिरहेको छु। भलिबल समर्थक र प्रेमीको मायाले नै बाँचिरहेको छु।’

खेल प्रशिक्षक हुँदै खेलाडी उत्पादनमा लागेका राई आफूलाई खेलप्रेमी भन्न मन पराउँछन्। सफलता पाउँदै जाँदा महत्त्वाकांक्षा पनि बढ्दै जाने उनको अनुभव छ। राईको पनि रहर बढ्दै गइरहेको छ। अबको केही वर्षमा क्लबको नाममा एउटा जग्गा र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने चाहना सुनाउँछन् उनी। 

२०ं६२ मा न्यु डायमण्डले पुरुषहरुलाई भलिबल प्रशिक्षण दिन थालेको थियो। विद्यालयस्तरका प्रतियोगिता खेल्न जाँदा एउटा सेटमा २-३ भन्दा बढी स्कोर गर्न नसक्ने अवस्था थियो। केटाहरुको भलिबलको भविष्य नदेखेपछि राईले केटीहरुलाई प्रशिक्षण दिने योजना बनाएका थिए। त्यसअनुसार २०६४ को जेठ ५ गतेबाट महिला भलिबल प्रशिक्षण सुरु भएको थियो। 

बाबुआमाको माया नपाएका नानीलाई ल्याएर सक्षम नागरिक बनाएर भलिबलको माध्यमबाट अन्तर्राष्ट्रिस्तरमा चिनाउने उनको रहर छ।आफूपछि ललिता नाथ, पनामिका राई र प्रतिभा मालीले डायमन्डलाई थप उचाइमा पुर्याउनेमा प्रशिक्षक राई विश्वस्त छन्। 

‘यसको नाम न्यु डायमण्ड रहेपनि हाम्रो इच्छा नेपालको भलिबललाई उकास्ने हो। यो हामी सबैको क्लब हो’, उनले भने। 

प्रशिक्षक राई डायमन्डका खेलाडीको मात्र नभई भलिबल समर्थकका पनि सर हुन्। उनलाई सबैले कुमार सर भनेर नै सम्बोधन गर्छन्। भलिबलसँग जोडिएकाहरु कहीँ न कतैबाट कुमार सरसँग ठोक्किन आइपुग्छन्। 

तिनै ‘कुमार सर’लाई खेलाडी उत्पादन र निरन्तरतामा पाएको सफलताले अर्को महत्त्वाकांक्षा जगाएको छ। त्यो हो– ‘नेपालमा मात्र हैन, अब अन्तर्राष्ट्रियस्तरमा पनि च्याम्पियन बन्ने।’ 

‘अब नेपालमा मात्र हैन, अन्तर्राष्ट्रियस्तरमा पनि च्याम्पियन हुनुपर्छ भन्ने महत्त्वाकांक्षा बढ्दै जाने रहेछ’, उनले सुनाए, ‘पहिला नेपाल च्याम्पियन हुनु ठूलो कुरा थियो। बाँचुन्जेल यस्तै हुने रहेछ। पहिला यस्तो गरौँला भन्ने लागेको थिएन।’

यो पनि–

माघ २०, २०८२ मंगलबार ९:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad