नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) स्पोर्टस अवार्डको २०औँ संस्करण काभ्रेपलाञ्चोकमा गर्ने भएको छ।
एनएनआईपीएले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पहिलो पटक उपत्यका बाहिर स्पोर्टस अवार्ड गर्न लागेको जानकारी दिएको हो। एनएनआईपीएले स्पोर्टस अवार्डको २०औँ संस्करण काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा गर्ने जनाएको हो। स्पोर्टस अवार्ड आगामी चैत २० गते हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले बताए।
२०८१ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता सीमित रहेकाले यस वर्ष नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट मान्यता प्राप्त २७ खेलका आधारमा सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीलाई सम्मान गरिने एनएनआईपीएले जनाएको छ। अवार्डमा २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने तथा तीमध्येबाट एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गर्नेछ।
अवार्डमा फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, भलिबल, आर्चरी, साइक्लिङ, फेन्सिङ, स्विमिङ, ट्रायथलन, कुस्ती, बास्केटबल, कबड्डी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, क्यानोइङ, जिम्नास्टिक, लन टेनिस, हक्की, टेबल टेनिस, बक्सिङ र स्की खेल समावेश हुनेछन्।
अवार्डमा एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी, एक जना अग्रज खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान, एक जना खेल पत्रकारलाई खेल पत्रकारिता पुरस्कार तथा एक जना उत्कृष्ट पारा खेलाडीलाई पनि सम्मान गरिनेछ।
Shares

प्रतिक्रिया