दक्षिण अफ्रिकाविरुद्धको बिर्सनलायक हारलाई बिर्सिंदै भारतले आईसीसी टी-२० विश्वकपको सुपर-८ मा बलियो पुनरागमन गरेको छ। बिहीबार जिम्बाब्वेलाई ७२ रनले पन्छाउँदै भारतले सेमिफाइनल पुग्ने आफ्नो सम्भावनालाई गणितीय मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि मजबुत बनाएको हो।
यस जितसँगै भारतले आफ्नो नेट रनरेटमा सुधार मात्र गरेको छैन, आइतबार हुने वेस्ट इन्डिजविरुद्धको खेललाई 'भर्चुअल क्वार्टरफाइनल' को रोचक मोडमा पुर्याएको छ। आइतबारको विजेताले दक्षिण अफ्रिकापछि समूह १ बाट अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ।
ओपनिङमा नयाँ प्रयोग
अफ-स्पिनरविरुद्धको कमजोरी ढाक्न प्रशिक्षक गौतम गम्भीरले यसपटक ओपनिङ जोडीमा रणनीतिक परिवर्तन गरे। लगातार बायाँहाते ब्याटर पठाउँदा विपक्षीलाई सहज भइरहेको अवस्थामा यसपटक अभिषेक शर्मासँगै सन्जु सामसनलाई ओपनिङमा उतारियो। 'राइट र लेफ्ट' को यो कम्बिनेसनले ३.४ ओभरमै ४८ रन जोड्दै ठूलो स्कोरको आधार तय गर्यो।

पछिल्ला चार खेलमा खाता खोल्न समेत संघर्ष गरेका अभिषेकले ३० बलमा ५५ रन प्रहार गर्दै आफ्नो लय फर्किएको संकेत दिएका छन्। पूर्व क्रिकेटर इरफान पठान र सञ्जय बांगडले यो रणनीतिलाई गम्भीरको 'पुरानो र सफल अस्त्र' का रूपमा व्याख्या गरेका छन्।
कीर्तिमानी ब्याटिङ
स्पिनरविरुद्ध निरीह देखिँदै आएका भारतीय ब्याटरले यसपटक भने सुधारिएको प्रदर्शन गरे। यसअघिका खेलमा १९ विकेट स्पिनरलाई बुझाएको भारतले यसपालि जिम्बाब्वेका स्पिनरलाई केवल एक विकेट मात्र दिनु सकारात्मक पक्ष रह्यो। कप्तान सूर्यकुमार यादवले भिडियो एनालिस्टको डेटा प्रयोग गरी ब्याटिङमा सुधार ल्याइएको स्वीकार गरे।
सुध्रिएन बलिङ
विशाल स्कोर बनाए पनि भारतीय बलिङ भने पूर्णतः ढुक्क हुने अवस्थामा देखिएन। २५७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १८६ रन बनाउनु र ओपनर ब्रायन बेनेटले ९७ रनको अविजित इनिङ्स खेल्नुले भारतीय बलिङको कमजोरी उजागर गरेको छ।
विशेष गरी स्पिनरद्वय वरुण चक्रवर्ती र अक्षर पटेलले महँगो सावित हुँदै समान ३५–३५ रन खर्चिए। छैटौँ बलरको रूपमा प्रयोग गरिएका शिवम दुबेले २ ओभरमा ४६ रन सुम्पिनु भारतका लागि चिन्ताको विषय बन्न सक्छ। अर्शदीप सिंहले ३ विकेट लिएर स्कोर अन्तर बढाए पनि कप्तान सूर्यकुमारले वेस्ट इन्डिजविरुद्धको महत्वपूर्ण खेलअघि बलिङमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
Shares

प्रतिक्रिया