मुलुकको घरेलु क्रिकेटको कसिलो संरचना मानिएको 'जय ट्रफी' राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल सरेको छ। कीर्तिपुर र मूलपानी मैदानमा जारी प्रतियोगिताको निर्णायक भिडन्त आगामी चैतका लागि धकेलिएको हो।
प्रतिनिधि सभाको निर्वाचनका कारण सुरक्षा र व्यवस्थापकीय चुनौती देखिने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको अन्तिम तालिका हेरफेर गरेको हो। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अब उपाधि भिडन्त आगामी चैत २२–२४ मा हुनेछ।
क्यान प्रवक्ता लामाले विज्ञप्तिमा भनेका छन्, “नेपालमा हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनको कारणले आगामी अप्रिल ५–७ (चैत २२–२४) मा फाइनल खेल सञ्चालन हुने व्यहोरा अनुरोध गर्दछौँं।”
यसअघि फागुनको अन्तिम साता फाइनल गर्ने तयारी थियो। निर्वाचनको माहोलले गर्दा खेल सारिएको हो।
नेपाली क्रिकेटको पुनरुत्थानका लागि महत्वपूर्ण मानिएको यो प्रतियोगिता लामो अन्तरालपछि 'जय ट्रफी'को ब्रान्ड नेममा पुन: सञ्चालनमा आएको हो। यसपटक सातै प्रदेशका टोलीहरूले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।
राष्ट्रिय टिमको छनोटका लागि समेत यो प्रतियोगितालाई मुख्य आधार बनाइएकाले खेलाडी र प्रशिक्षकहरूले यसलाई निकै महत्वका साथ लिएका छन्।
चैतको अन्तिम साता हुने फाइनल तीन दिवसीय ढाँचामा हुने भएकाले यसले नेपालको 'रेड बल' क्रिकेटको स्तरलाई समेत मापन गर्नेछ।
Shares

प्रतिक्रिया