अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि टिम दर्ता गर्न क्लबहरूलाई पत्रचार गरेको छ।
एन्फाले १३ क्लबलाइ ‘ए’ डिभिजन लिगका लागि क्लब दर्ता गर्न पत्रचार गरेको हो। एपीएफ फुटबल क्लब र थ्रीस्टार क्लबलाई भने सहभागिताका लागि पत्रचार गरिएको छैन।
एन्फाले त्रिभुवन आर्मी क्लब, भगवती क्लब, प्लानिङ ब्वाइज युनाइटेड, संकटला एफसी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी, मछिन्द्र, जावलाखेल, सातदोबाटो, मनाङ मस्र्याङी र हिमालयन शेर्पा क्लबलाई पत्र पठाएको छ।
आउँदो चैत ३० गतेबाट एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो। त्यसका लागि टिम र खेलाडी दर्ता गर्न क्लबलाई पत्र पठाएको हो। यससँगै प्रतियोगिताको नियमावलीको ड्राफ्ट र टिम सहभागिता सुनिश्चितता फाराम क्लबलाई पठाएको छ।
टिम दर्ताका लागि चैत २० गतेसम्मको समय दिएको छ। पहिलो चरणको खेलाडी तथा अफिसियल दर्ता आउँदो चैत २२ देखि वैशाख १८ गतेसम्म समय तोकेको छ।
Shares

प्रतिक्रिया