खेल


सुदूरपश्चिमलाई पराजित गर्दै मधेस प्रदेशको पहिलो जित दर्ता

सुदूरपश्चिमलाई पराजित गर्दै मधेस प्रदेशको पहिलो जित दर्ता

नेपालखबर
चैत ११, २०८२ बुधबार १५:३३, काठमाडौँ

सुदूरपश्चिमलाई पराजित गर्दै मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। 

बुधबार भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई ५ विकेटले हराएको हो। 

मधेशले पिएम कपको आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्दा सुदूरपश्चिमले भने पहिलो हार व्यहोरेको हो। 

वर्षाका कारण खेल हुन नसकेपछि मधेसले पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाँडेको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले हराएको थियो। 

सुदूरपश्चिमले दिएको १ सय ६१ रनको मध्यम लक्ष्य मधेसले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। मधेशका लागि अरनिको यादव ४६ रनमा अविजित रहे। उनले ७८ बलमा ९ चौका प्रहार गरे। मोहम्मद आदिल आलम ३४ रन बनाउँदा क्याच आउट हुन पुगे। 

पवन सर्राफले २१ रन थपे। रुपेश सिंह १६ रनमा अविजित रहे। ओपनर मयन यादव र अनिल शाहले समान १३ रन बनाए। सुदुरपश्चिमका लागि अशोक धामीले ३ र शेर मल्लले २ विकेट लिए। 

त्यसअघि विरगंजको नारायणी क्रिकेट मैदानमा मधेसले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ४३.२ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट हुन पुग्यो। 

सुदूरपश्चिमका लागि ओपनर आभिशेक पलले ३३ रन बनाए। किरण ठगुन्ना र नारायण जोशीले समान २३ रन बनाए। अशोक धामीले १९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

मधेसका लागि अरनिको यादवले ३ तथा प्रदीप पासवानले २ विकेट लिए। रुपेश सिंह, आदिल आलम, आशिक बैठ र पवन सर्राफले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad