कोशी प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदीवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
बुधबार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले हराउँदै जित निकालेको हो। कोशी प्रदेशले खेलेका तीन खेलमा अहिलेसम्म जित निकाल्न सकेको छैन।
कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रन बनाउँदा अलआउट भयो। कोशीका ओपनर सुमन श्रेष्ठले ७५ बल खेलेर मात्र २० रन बनाए। दिपेश कडेलले २६ रन थपे। शिवम बजगाइले २३ रन बनाए। सकिब हक र अंकित सुवेदीले समान १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५ विकेट लिए। दिवान पुन र प्रकाश जैसीले समान २ विकेट लिए। किफयती बलिङ गरेका दिपेन्द्र रावतले ९ ओभरमा २ मेडन राख्दै २० रन खर्चेर एक विकेट लिए।
त्यसअघि जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले ३९.१ ओभरमा १५१ रन बनाउँदा अलआउट भयो।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ६३ रन बनाए। विपिन रावलले ३२, सुनिल धमलाले १९ र कप्तान दिवान पुनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीलाई रोक्न कोशीका प्रेम रावतले ४ विकेट लिए। ज्ञानेन्द्र श्रेष्ठले ३ तथा सुजन थपलियाले २ विकेट लिए। विपिन महतोले एक विकेट आफ्नो नाममा गरे।
कर्णालीले पहिलो खेलमा ललितपुरसँग अंक बाँडेको थियो। दोस्रो खेलमा कर्णाली सुदूरपश्चिमसँग ४ विकेटले पराजित भएको थियो।
कोशी र मधेश प्रदेशबीचको पहिलो खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेका थिए। कोशी दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग १४८ रनको फराकिलो हार भोगेको थियो।
Shares

प्रतिक्रिया