खेल


निलम्बन नगर्न राखेपलाई एन्फाको आग्रह, भन्यो- समयमै निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था

निलम्बन नगर्न राखेपलाई एन्फाको आग्रह, भन्यो- समयमै निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था

नेपालखबर
चैत ११, २०८२ बुधबार १७:३६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तोकिएको समयमा निर्वाचन नभएमा नेपाली फुटबल अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धमा पर्न सक्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई घोषित मितिमा हुने निर्वाचन सम्पन्न गर्न बाध्यात्मक अवस्था सिर्जना भएको बताएको छ। 

राखेपले चैत १० मा एन्फालाई पत्र लेख्दै २४ घण्टाभित्र जवाफ दिन अल्टिमेटन दिएको थियो। पत्रको जवाफ दिँदै एन्फाले राखेपबाट ऐनको दफा २९ (२) बमोजिम संघलाई तीन महिनासम्म निलम्बनको कारबाही उचित नदेखिएको जनाएको छ।

निलम्बनको अवस्थामा तेस्रो पक्षको (सरकारी) हस्तक्षेप हुने हुँदा फिफा तथा एएफसीबाट त्यस्तो हस्तक्षेप स्वीकार नगर्ने भएकाले नेपाली फुटबल निलम्बनमा पर्ने अवस्था आइपर्ने र देशको फुटबल खेलको भविष्य अन्धकार हुने एन्फाले जिकिर गरेको छ। एन्फाले निलम्बनको अप्रिय निर्णय नगर्न राखेपलाई अनुरोध गर्दै निर्धारित समयमा हुने निर्वाचनलाई सम्पन्न गर्न प्रतिनिधि पठाएर सहयोग गर्न अनुरोध समेत गरेको छ। 

एन्फाले राखेपलाई पठाएको जवाफमा एन्फा स्वायत्त संस्था भएको जिकिर गरिएको छ। ‘फुटबलको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय फिफा र एएफसीमा आवद्ध नेपालको एक मात्र फुटबल खेल संस्थाको रुपमा रहेको राष्ट्रिय खेल संघ हो,’ एन्फाले भनेको छ, ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को २२ को उपदफा (३) मा व्यवस्था भएको उपदफा (१) बमोजिम गठन भएको खेल संघ वा संस्था स्वायत्त हुनेछन् भन्ने उल्लेख भए बमोजिम अखिल नेपाल फुटबल संघ त्यस परिषदबाट स्वीकृति विधान बमोजिमको एक स्वायत्त राष्ट्रिय खेल संघ हो।’

फिफा र एएफसीको सदस्य संस्थामा आबद्ध हुनुको नाताले दुवै संस्थाहरुको विधान, नियम तथा निर्देशनहरू विना शर्त पालना गर्नु पर्ने संघको कर्तव्य र दायित्व भएको उल्लेख गरिएको छ। राखेपद्वारा स्वीकृत संघको विधान अनुरुप संघको कार्यसमितिले मिति, समय र स्थान लगायतको विषय निर्णय गर्न संघलाई पूर्णरुपमा अधिकार दिएको उल्लेख गर्दै एन्फाले भनेको छ, ‘‘फिफा र एएफसीको विधान अनुरुप कुनै पनि तेस्रो पक्षको हस्तक्षेपलाई पूर्ण रुपमा बंञ्चित गरिएको सन्दर्भ राखेपलाई फिफा र एएफसीको सन् २०२६ जनवरी १६ (२०८२ माघ २) र २०२६ मार्च १३ (२०८२ फागुन २९) मा प्राप्त पत्रको प्रतिलिपि यसै साथ संलग्न गरी उपलब्ध गराई सकिएको छ।’

उक्त पत्रमा कुनै तेस्रो पक्षको हस्तक्षेप भएमा नेपालको फुटबल अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धमा पर्ने चेतावनी समेत दिइएको उल्लेख गरिएको छ। त्यसैले २०८२ चैत १३ गतेको निर्वाचन स्थगन भएको खण्डमा नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधि लगायत फिफा र एएफसीबाट नेपालको फुटबलले प्राप्त गर्ने आर्थिक, प्राविधिक लगायत सम्पूर्ण सहयोग स्थगन हुने भएकोले संघको घोषित मितिमा हुने निर्वाचन सम्पन्न गर्न वाध्यात्मक अवस्था सिर्जना भएको जनाइएको छ। 

यससँगैले रापेखबाट समय-समयमा दिइएको निर्देशनको पालना र पत्राचारको जवाफ दिँदै आएको पनि पत्रमा स्मरण गराइएको छ। राखेप र खेलकुद मन्त्रालयको निर्देशन उल्लधन गरेको कुरामा सत्य रहेको पनि एन्फाले जिकिर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad