अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार हुने भनिएको साधारण सभा र अर्ली इलेक्सनमा अध्यक्षका प्रत्यासी दिर्घबहादुर केसी (कुमार) भाग नलिने भएका छन्।
एन्फालाई तहगत निर्वाचन गरेर मात्र निर्वाचन गर्न राष्टिय खेलकुद परिषद् (राखेप) ले पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि मंगलबार साँझ राखेपले एन्फालाई तीन महिनाको लागि प्रतिबन्ध लगाएको छ। राखेपले एन्फालाई प्रतिबन्ध लगाएपछि निर्वाचनमा भाग लिनुको कुनै औचित्य नभएकाले भाग नलिने निर्णय गरेको केसीले बताएका छन्।
नेपालखबरसँग कुरा गर्दै केसीले भने, ‘झापामा निर्वाचन हुने भनेको छ, झापाको कहाँ, कुन ठाउँमा भन्ने अहिलेसम्म कुनै जानकारी छैन। एन्फाको केन्द्रीय कार्यालयको सचिवालय पनि बन्द छ, निर्वाचन समितिले पनि कुनै जानकारी दिएको छैन। अनि कहाँ जाने त?’
एन्फाको अर्ली इलेक्सनमा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङ र दिर्घबहादुर केसी अध्यक्षको दौडमा दिए। अब केसीले भाग नलिने भएपछि नेम्वाङ एक्लै अध्यक्षको दौडमा बाँकी रहे। निर्वाचनमा केसीसँगै उनको प्यानलबाट कोही पनि सहभागी नहुने उनले बताएका छन्।

त्यस्तै, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघ र सरोकारवालाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर राखेपले एन्फालाई निलम्बन गर्नु दुःखद भएको जनाएका छन्।
एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई जोगाउन मिलेर जानुपर्ने बताए। ‘सरकारले निलम्बन गर्यो भने हामी प्रतिबन्ध गर्छौ भनेर फिफाले पत्र पठाएको छ। राखेपले निलम्बन गरेकाले भोलि नै निर्वाचन भयो भने हामी मुद्दा मामिलामा जानुपर्छ जस्तो लाग्दैन,’ उनले भने।
अब मिलेर अधिवेशन गर्नुपर्ने उनको भनाइ छ। ‘अब ६ महिनामा निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। संस्थापन पक्ष वार्तामा आयो भने हामी तयार छौँ तर अहिले नेतृत्व समस्या समाधानका लागि भन्दा पनि समस्या मात्रै उत्पन्न गराउने जस्तो छ।’
Shares

प्रतिक्रिया