खेल


एन्फा अध्यक्ष नेम्वाङले भने– राखेपले निःशर्त निलम्बन फिर्ता गर्नुपर्छ

एन्फा अध्यक्ष नेम्वाङले भने– राखेपले निःशर्त निलम्बन फिर्ता गर्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८२ शुक्रबार १३:५४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन महिनाको लागि गरेको निलम्बन विना शर्त फिर्ता गर्नुपर्ने बताएका छन्। 

एन्फाको आज शुक्रबार हुने भनिएको अर्ली इलेक्सन बिहीबार सूचना जारी गर्दै स्थगित भएको थियो। एन्फालाई राखेपले तीन महिनाका लागि निलम्बन गरेपछि वर्तमान नेतृत्वले पत्रकार सम्मेलन गर्दै विना शर्त निलम्बन फुकुवा गर्नुपर्ने बताएका हुन्।

निर्वाचनका लागि झापामा दुई तिहाइ सदस्य उपस्थित भएको दाबी गर्दै नेम्वाङले भने, ‘हामी दई तिहाइ यहाँ उपस्थित छौँ, हामी जहाँ छौँ, इमानदार र जिम्मेवार छौँ। फुटबलमा सुशासन हामीले कायम गरेका छौँ, हामीले नै गर्नुपर्छ, हामीले सुशासन कायम गर्दा विभिन्न अवार्डहरु पनि जित्यौँ। पहिले ५ सय प्रशिक्षक थिए, अहिले १५ सय जना छन्। ९० रेफ्री थिए, अहिले ५ सय रेफ्री छन्। राउन्ड रोबिन लिग गर्न सफल भयौँ। राष्ट्रिय लिग गरिरहेका थियौँ।’ 

उनले यसअघि कार्यसमितिका केहीले पत्रकार सम्मेलन गरेर चुनावको माग गरेको बताउँदै सबै बसेर सल्लाह गरेर विधान हेर्दा विधानले नरोक्दा निर्णय गरेर जाऊँ भनेर चुनावमा आएको उल्लेख गरे। 

‘हामीले साथीहरुकै माग पूरा गरेका हौँ। साथीहरुको माग पूरा गर्दा हप्तापिच्छे मुद्दा खेप्यौँ। हाम्रो कर्तव्य भनेको देशको कानुन मान्नु हो, एन्फा, फिफा र एएफसीको विधानलाई मान्नु हो’, उनले भने, ‘खेलकुद नियमावली बनाउँदा फिफा, एएफसी लगायतका अन्तराष्ट्रिय खेलसंघका विधानलाई पनि मान्नुपर्छ। सरकार र राखेपले कुनै व्यक्तीको इच्छामा कसैले विरोध र भन्यो भन्दैमा फिफा एएफसी र एन्फाको विधान मिच्न सक्दैनौँ र हुँदैन।’ 

अन्तर्राष्ट्रिय खेल संघको विधानलाई सपोर्ट गर्ने गरेर विधान बनाएको हुने भएकाले यहाँ पनि त्यो गर्नुपर्ने बताए। 

‘एन्फा र राखेपको उद्देश्य एउटै हो, फिफा र एएफसीले पनि हामीले सकेको सहयोग गछौँ भन्ने हो। हाम्रो चाहना पनि यही हो। हामीले राखेपलाई सम्झाउन कोशिस गर्यौँ, त्यसमा असमर्थ भयौँ। हाम्रो कोर्टबाट बल सरकारको कोर्टमा पुगेको छ। अब राखेपले देशको फुटबल विकासमा महिला र पुरुष लिगका लागि २५–२५ लाख दिएर मात्रै हुँदैन’, उनको भनाइ छ।  

निलम्बन र स्पष्टीकरणको पत्र मेलमा तुरुन्त आएजसरी नै नेपाल र हङकङबीको खेलको स्वीकृतिको पत्र पनि आइदिएको भए हिजो खेल हुने अवस्था रहेको उनले बताए।  

‘म स्वीकृतिका लागि हामीले पहल गरेका हौँ, तर राखेपका साथीहरुले सहयोग गर्नुभएन। कुनै क्लबको तुरुन्त हुने कुनै क्लबको नहुने। कुनै संघलाई दुःख दिने मनसाय राख्नु हुदैन, एन्फालाई निलम्बन गरेर मात्र हुँदैन फुटबलको जिम्मा लिनुपर्छ, त्यो सोच पनि बनाउनुभएको होला’, उनले भने।  

फुटबलका सबै स्टेक होल्डर मिल्नुपर्नेमा उनको जोड छ। उनले सबैलाई जिम्मेवार ढंगले सोच्न आग्रह गरे। 

‘अघि बढ्नुपर्छ भनेर चुनाव गर्नुपर्छ भनेका हौँ। आज चुनाव गर्न दिनुहुन्छ भनेर आएका थियौँ तर उहाँहरुले निलम्बन गर्नुभयो’, उनले भने, ‘हामी सही छौँ र फिफा एफसीले हामीलाई साथ दिन्छ र आज बन्ने नयाँ सरकारले पनि हाम्रो कुरालाई आत्मसात् गर्न ढिला गर्नुहुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad