विशाल पटेलको घातक बलिङमा मधेस प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार भएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले हराएको हो। मधेसले दुई खेलमा जित र एक खेलमा अंक बाँडेको छ। लुम्बिनीले भने पीएम कपमा पहिलो हार बेहोरेको हो।
मधेसले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले २६ ओभरमा ९९ रन बनाउँदा अलआउट भयो। लुम्बिनीका लागि सुमित श्रेष्ठले बनाएको ३० रन नै सर्वाधिक रह्यो। सन्देश थापाले १६, सन्तोष यादव र कप्तान देव खनालले समान १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
लुम्बिनीलाई कम स्कोरमा रोक्न विशाल पटेलले सर्वाधिक ५ विकेट लिए। उनले ९ ओभरमा ३ मेडन राख्दै २४ रन खर्चे।
प्रदीप पासवानले २ विकेट लिए। रुपेश सिंह, मोहम्मद आदिल आलम र आशिकले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि जनकपुरको रामजानकी बहुउद्देश्यिय रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेसले ३८.१ ओभरमा १२४ रन बनाउँदा अलआउट भयो। मधेसका लागि ओपनर मयन यादवले ३१ रन बनाए।
मोहम्मद आदिल आलमले २३ र पवन सर्राफले १९ रन थपे। अरनिको यादवले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
लुम्बिनीका लागि सन्देश थापा, सन्तोष यादवले समान ३ विकेट लिए। सन्देशले ५.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चे। अजय चौहानले २ र निर्मल गुरुङले एक विकेट लिए।
Shares

प्रतिक्रिया