लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
सोमबार भएको खेलमा सुुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले हराएको हो। तीन खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिमले ६ अंकमा तेस्रो स्थानमा उक्लेको छ।
एक खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी प्रदेश ३ अंकमा तालिकाको पाचौँ स्थानमा छ।
सुदूरपश्चिमले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४०.२ ओभरमा १ सय ५६ रन बनाउँदा अलआउट भयो।
लुम्बिनीका सन्तोष यादवले ६७ रन बनाउँदा खडक बोहोराको बलमा बोल्ड आउट हुन पुगे। ध्रुव सुनारले ३६ र रञ्जित खड्काले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
शेर मल्ल र खडक बोहोराले समान ३ विकेट लिए। हेमन्त धामीले २ तथा नारायण जोशी र लोकेन्द्र चन्दले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ४५.४ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।
सुदूरपश्चिमका लागि दीपक बोहोराले ३०, हेमन्त धामीले २९ रन बनाए। किरण ठगुन्नाले २०, अविशेक पलले १७, प्रकाश पाण्डेले १४, खडक बोहोरा र सौर्या श्रेष्ठले समान १० रन थपे।
लुम्बिनीका सन्तोष यादव र अजय चौहानले समान ४ विकेट लिए। सन्देश थापाले एक विकेट लिए।
Shares

प्रतिक्रिया