नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला च्यालेन्ज ट्रफीको लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले दोस्रो चरणको प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो। कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, रविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, सना प्रवीन र सावित्री धामीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो।
यसअघि क्यानले २९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो। त्यसबाट दोस्रो चरणको प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो।
च्यालेन्ज ट्रफी आगामी अप्रिल १२ देखि मे २ सम्म रुवान्डामा हुनेछ। यो उदीयमान राष्ट्रहरूलाई उच्च प्रदर्शनका लागि एक्पोजर दिन आईसीसीले तयार पारेको नयाँ कार्यक्रमको ढाचाँ हो।
च्यालेन्ज ट्रफीमा पाँच आईसीसी विकास क्षेत्रहरू अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोपबाट शीर्ष टोलीहरू सहभागी हुनेछन्। यो इमर्जिङ नेसन्स ट्रफीको हिस्सा नभइ क्षेत्रीय छनोट कार्यक्रम (आईसीसी महिला टी-२० विश्वकप २०२६ क्षत्रीय छनोट) मार्फत पहिचान गरिएको छ।
यसका लागि अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डाले प्रतिस्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया