मधेस प्रदेशसँग पराजित भएपनि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौँ स्थानमा रहँदै जय ट्रफीका लागि छनोट भएको छ।
बुधबार भएको खेलमा मधेस प्रदेशसँग ४ विकेटले पराजित भएपनि नेट रनरेटमा अघि रहँदै पुलिस क्लब जय ट्रफीका लागि छनोट भएको हो।
गण्डकी र पुलिस क्लबको समान ९ अंक भएपनि पुलिस रन रेटमा अघि रहँदै छैटौँ स्थानमा रह्यो।
पुलिस क्लबले दिएको १ सय ३१ रनको लक्ष्य मधेशले २४.१ ओभरमा ६ विकेटको क्षतिमा भेटटयो।
मधेसको जितमा अरनिको यादवले सर्वाधिक ६५ रनको योगदान दिए। रुपेश सिंहले २७ रन थपे।
पुलिस क्लबका गुल्सन झा ले ३ तथा सागर ढकालले २ विकेट लिए ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लब ४०.३ ओभरमा १ सय ३० रन बनाउँदा अलआउट भयो।
कुशल भुर्तेलले ३९ र शंकर रानाले २७ रन बनाए। रासिद खानले १८ तथा दिनेश खरेल र गुल्सन झाले समान १५ रन बनाए।
मधेसका लागि पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठले समान ३ विकेट लिए। अरनिको यादवले एक विकेट लिए।
Shares

प्रतिक्रिया