खेल


कोरोनाका कारण आर्थिक संकट परेपछि यसो भन्छन् खेलाडी

कोरोनाका कारण आर्थिक संकट परेपछि यसो भन्छन् खेलाडी

लक्ष्मी जि.सी
जेठ २२, २०७७ बिहिबार १०:२०,

कोरोना भाइरस महामारी रोक्न गरिएको लकडाउन तेस्रो महिनामा प्रवेश गरेसँगै खेलाडीहरु आर्थिक संकटमा पर्न थालेका छन्।

विनाविभागीय खेलाडीहरुलाई हातमुख जोर्नै समस्या हुन थालेको छ। नियमित तलब आउने हुनाले विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) मा आबद्ध खेलाडीलाई आर्थिक संकटले छोइसकेको छैन।

अन्य खेलको तुलनामा फुटबल, क्रिकेट र भलिबलका खेलाडीको आम्दानी बढी छ। तर, त्यो नियमित छैन। क्लबसँग सम्झौता भएको अवधिबाहेक फुटबल खेलाडीको नियमित आम्दानीको स्रोत छैन। राष्ट्रिय टोलीमा रहेका सिमित खेलाडीले भने नियमित रुपमा पारिश्रमिक पाउने गरेका छन्।

क्रिकेटमा पनि सम्झौतामा रहेका खेलाडीले मासिक पारिश्रमिक पाउँछन्। अन्य खेलाडीले भने फ्रेन्चाइज लिग हुँदा पारिश्रमिक पाउने गर्छन्। भलिबलको अवस्था त्यो भन्दा कमजोर छ। भलिबल खेलाडीले नियमित पारिश्रमिक पाउँदैनन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मात्र अहिलेसम्म खेलाडीलाई खुराक खर्च उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको एन्फा बैठकले राष्ट्रिय फुटबल खेलाडी महिला र पुरुष टोलीका ३५/३५ खेलाडीलाई जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। अन्य संघले अहिले सम्म त्यस्तो सहयोगको घोषणा गरेका छैनन्।

युरोप र एसियाका केही मुलुकले बिना दर्शक खेलकुद प्रतियोगिता सुरु गरेका छन्। नेपालमा पनि विस्तारै खेलाडीको प्रशिक्षण मात्र भएपनि सुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ। तर, सरकारले कम्तीमा जेठ मसान्तसम्म कुनै गतिविधि नगर्न निर्देशन दिएको छ।

खेलाडीहरुको अविभावक संस्था युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद वा नेपाल ओलम्पिक कमिटीले आर्थिक संकटसँग जुधिरहेका खेलाडीलाई सहयोग उपलब्ध गराउने विषयमा कुनै योजना बनाएका छैनन्।

खेलकुदका नियमित प्रतियोगिता रोकिएपछि खेलाडीहरुलाई कस्तो समस्या आइपरेको छ त? नेपालखबरले केही खेलाडीहरुसँग कुराकानी गरेको छ:

santoshi_sth.jpg

आर्थिक, शारीरिक, मानसिक सबै खालको समस्या छः सन्तोषी श्रेष्ठ, एथ्लेट
सबैका लागि यो समय कठिन नै छ। तर हामी खेलाडीहरुको सवालमा भने विभागमा हुनेका लागि भन्दा बाहिर हुनेका लागि समस्या छ। विभागका खेलाडीलाई केही समय खेल नहुँदा आर्थिक कारणले त्यत्ति ठूलो समस्या नपर्न सक्छ। अन्य खेलाडीका लागि भने पक्कै यो कठिन समय हो।

कोरोनाको कारण खेल गतिविधि ठप्प छ। त्यसैले आम्दानी पनि छैन। आर्थिकसँगै अहिले खेलाडीलाई मानसिक रुपमा पनि असर परेको मैले महसुस गरेको छु। खेलाडी भनेका शारीरिक र मानसिक रुपमा पनि क्रियाशील रहनुपर्ने पेसा हो। अहिले घरमा बन्द भएर बस्नुपर्दा हरेक खेलाडीलाई समस्या परेको हुनसक्छ।

laxman_ruchal.jpg

निकै ठूलो मार परेको छः लक्ष्मण रुचाल, फुटबलर, संकटा क्लब
यो समयमा खेलाडीहरुलाई निकै गाह्रो भएको छ। मलाई पनि निकै गाह्रो भएको छ। संकटा क्लबसँग १ वर्षको सम्झौता गरेको थिएँ। अहिलेसम्म पूरा पैसा पाएको छैन। कति खेलाडीको ४ महिनाको मात्र सम्झौता छ। उनीहरुलाई झन् कति गाह्रो भयो होला। क्लबसँग कुरा भइरहेको छ। बाँकी पैसा केही दिनमा पठाउँछु भन्नुभएको छ। प्रतियोगिता हुँदा पूरा पैसा दिने र अघिपछि आधा रकम दिने भनेर सम्झौता भएको हो। क्लबले भने यो बेलामा जति सकिन्छ मिलाएर दिने बताएको छ। त्यसले केही राहत महसुस भएको छ।

लकडाउनको कारण अहिले गृहजिल्ला स्याङ्जामा छु। बिहान बेलुका सेल्फ ट्रेनिङ गरिरहेको छु। वालिङमा एउटा सानो फेन्सी पसल पनि छ। कोरोनाका कारण न खेल छ, न पसल खोल्न पाइएको छ। दोहोरो मार परेको छ। लोन लिएर काम गरेको छ। ब्याजका लागि बैंकबाट फोन आउन थालिसक्यो। साँच्चै भन्ने हो भने यो समय आर्थिक कारणले कठिन छ। त्यसले मानसिक रुपमा पनि दबाब त पर्छ नै।

salina_sth.jpg

यस्तै अवस्था रहिरहने हो भने निकै अप्ठेरो पर्न सक्छः सलिना श्रेष्ठ, भलिबल खेलाडी
यो समयका खेल नहुँदा हामीलाई धेरै गाह्रो भएको छ। म टौदहनजिकै बस्छु। यहाँबाट मलाई नैकाप न्यु डायमण्ड क्लब गएर ट्रेनिङ गर्न सम्भव छैन। घरमा राम्रोसँग ट्रेनिङ गर्न पनि पाइँदैन। फिजिकल ट्रेनिङ ठीकै भएपनि बल र समूहमा अभ्यास गर्न पाइन्न। अब खेलेर नै घर चलाउनेको लागि यो बेला निकै अप्ठेरो परेको देखिन्छ।

म परिवारसँगै बसेकोले त्यस्तो अप्ठेरो परेको छैन। तर, अहिलेको परिस्थिति लामो समय रहने हो भने जोसुकैलाई पनि समस्या पर्ने देखिन्छ। यो समयमा कतिपय साथीहरुलाई आर्थिक संकट परेको देखिन्छ। यति लामो समयदेखि नियमित प्रशिक्षण नहुँदा फिट हुन कठिन छ। ट्रेनिङ गर्न नपाउँदा शरीर पनि पहिलाको जस्तो छैन।

dipendra_singh_airee.jpg

आईसीसीको बाँकी पैसा लिने प्रयास हुँदैछः दीपेन्द्रसिंह ऐरी, उपकप्तान, राष्ट्रिय क्रिकेट टोली
खेलाडी भनेको सक्रिय हुनुपर्ने हुन्छ। तर आफ्नो नियमित अभ्यास नहुनेबित्तिकै खेलाडीको फिटनेसमै समस्या हुन्छ। यो समयमा खेलेरै आय आर्जन गर्ने अवस्था पनि रहेन। म नेपाल पुलिस क्लबमा छु, त्यसैले मलाई ठीकै छ। हामीजस्तो विभागमा नहुने, खेलेरै आफ्नो जीवन चलाउनेका लागि भने समस्या देखिन्छ। भर्खरै खेलमार्फत भविष्य खोजिरहेकाहरुलाई यो समयले निराश बनाउन सक्छ।

राष्ट्रिय टोलीमा आएका नयाँ खेलाडीका लागि पनि खेल नहुँदा गाह्रो भइरहेको देखिन्छ। यो समयमा आईसीसीले दिन बाँकी पैसा पनि आएको छैन। त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) र कप्तान ज्ञानेन्द्र मल्लले पहल गरिररहनु भएको बुझेको छु। विभागमा नहुने खेलाडीको अवस्था भने सोच्नु पर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad