खेल


दशरथ रंगशालामा खेल्न पाउने खबरले महिला खेलाडीमा देखियो यस्तो उत्साह

दशरथ रंगशालामा खेल्न पाउने खबरले महिला खेलाडीमा देखियो यस्तो उत्साह

लक्ष्मी जि.सी
माघ ६, २०७७ मंगलबार ७:५८,

एक वर्षभन्दा कम समयमा नेपालले महिला फुटबलका दक्षिण एसियाली स्तरका दुई ठूला प्रतियोगिता आयोजना गरेको थियो। तर, ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए।

देशकै पुरानो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने महिला राष्ट्रिय टोलीका खेलाडीको सपना भने त्यति बेला पूरा भएन।

२०७५ को फागुनमा साफ च्याम्पियनसिपको आयोजना गर्ने मौका पाउँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विराटनगर रोज्यो।

गत वर्ष मंसिरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पोखरा रंगशालामा आयोजना गर्ने तय गर्‍यो।

यस्ता प्रतियोगिता आयोजना हुँदा राष्ट्रिय महिला टोलीका अधिकांश खेलाडीको एउटै भनाइ हुने गर्छ– दशरथ रंगशालामा खेल्न मन छ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि महिला टोलीले अझै पनि कति कुर्नुपर्ने हो भन्ने अनुमान गर्न सकिने अवस्था छैन। तर, क्लब फुटबलकै माध्यमबाट भएपनि यसपटक भने रंगशालामा खेल्ने धेरै महिला खेलाडीको सपना पूरा हुने भएको छ।

army mahila team football 99

बुधबारबाट सुरु हुने महिला राष्ट्रिय लिगको उद्घाटन र समापन दशरथ रंगशालामा हुने खबरबाट महिला खेलाडीमा एक प्रकारको उत्साह देखिएको छ।

त्यसो त, कतिपय खेलाडीले भने यसपटक पनि दशरथ रंगशालामा खेल्न पाउने छैनन्। राष्ट्रिय टोलीका अधिकांश खेलाडीले भने खेल्न पाउने सम्भावना छ। कारण राष्ट्रिय टोलीको अधिकांश खेलाडी तीनवटा विभागीय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब) मा छन्।

आर्मी र पुलिसबीच उद्घाटन खेल हुँदैछ। अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र होइन क्लब स्तरको महिला फुटबल पनि दशरथ रंगशालामा आयोजना हुनु दर्लभ जस्तै देखिन्छ। डेढ दशकयता कुनै पनि सिनियर खेलाडी दशरथ रंगशालामा उत्रेका छैनन्।

त्रिभुवन आर्मीकी कप्तान कविता धिमाल रगंशालामा खेल्नका लागि आफूहरु उत्साहित रहेको सुनाउँछिन्।

‘लामो समयपछि खेल हुन लागेको छ, हामीले धेरै मेहनत गर्दा पनि देखाउने ठाउँ थिएन त्यसैले अहिले खेल हुन लाग्दा यसै पनि खुसी छौं,’ उनले नेपालखबरसँग भनिन्, ‘सिनियर लेभलमा पहिलो पटक दशरथ रंगशालामा खेल्ने खबर सुन्दा पनि आनन्द लागेको छ।’

यद्यपी कविताले २०६४ मा प्रथम गणतान्त्रिक खेलमा दशरथ रंगशालामा खेलेको अनुभव छ। ‘त्यतिबेला स्कुल पढ्दै थिएँ,’ उनले सम्झिइन्।

२०६१ सालमा नेपाल, भारत र सिंगापुरका टोलीबीच महिला फुटबल आयोजना भएको थियो। त्यही वर्ष एपीएफको स्थापना दिवसको अवसरमा दशरथ रगंशालामा महिला फुटबल आयोजना भएको थियो।

यो पनि – महिला फुटबल खेलाडीलाई वर्षौंदेखि बिरानो बन्दै दशरथ रंगशाला

त्यसयता दशरथ रगंशालामा सिनियर महिला प्रतियोगिता नभएको एन्फाका लिग निर्देशक सञ्जिव मिश्र बताउँछन्।

‘सिनियर महिला टोलीले खेलेको त्यो नै अन्तिम थियो,’ उनले भने, ‘जुनियर प्रतियोगिता भने भएको छ।’

२०७२ को वैशाखमा १४ वर्षमुनिका यू–१४ गर्ल्स साफ च्याम्पियनसिप दशरथ रंगशालामा आयोजना भएको थियो। वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण नेपाल र बंगलादेशबीच तय भएको फाइनल स्थगित भएको थियो।

यसपटक तीन विभागसहित रौतहटको चन्द्रनिगहापुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढि नगरपालिकाले महिला लिग खेल्दैछन्।

उद्घाटन र समापन गरि दुई खेल रंगशालामा हुने भएपछि अझै केहि टोलीका खेलाडीले भने रंगशालाको अनुभव बटुल्न पाउने छैनन्। रंगशालामा खेल्ने सबैको रहर हुने भएकाले आर्मीकी कप्तान धिमाल सबै टोलीलाई कम्तीमा एक पटक त्यहाँ खेल्न मौका दिनुपर्ने सुझाउँछिन्।

police mahila team football 9999

राष्ट्रिय टोली एवंम् आर्मी क्लबकी गोलरक्षक अन्जना राना मगरको उत्साह पनि धिमालको जस्तै छ।

‘सानोमा एकपटक खेलेको थिएँ। राम्ररी याद पनि छैन,’ उनले भनिन्, ‘भूकम्पपछि पूर्ननिर्माण भएको दशरथ रंगशालामा अब खेल्न पाइने भयो भन्ने सुनेर खुसी लागेको छ।’

अन्जनाले सागको महिला फुटबलको फाइनल दशरथ रंगशालामा खेल्न पाउने आशा राखेको समेत स्मरण गरिन्।

अन्जनाजस्तै रश्मी कुमारी घिसिङ पनि रगंशालामा खेल्नका लागि खेलाडीमा छुट्टै जोश देखिएको बताउछिन्।

सशस्त्र प्रहरीको एपीएफ क्लब छाडेर डेढ वर्षअघि नेपाल पुलिस क्लब पुगेकी रेखा पौडेल यही लिग मार्फत् पुलिस क्लबको जर्सीमा मैदान उत्रदैछिन्।

उमेर समुहमा रगंशालामा खेलेको अनुभव लिइसकेकी पौडेल नयाँ टिमबाट खेल्नका लागि उत्साहित रहेको सुनाउँछिन्। ‘मैदान राम्रो बनाएको छ भन्ने सुनेको छु, सँधै दाइहरु खेलेको हेरिन्थ्यो अहिले आफै खेल्न लागेको छु,’ उनले भनिन्।

पुलिस क्लबकी सदस्य अमृता जैसीले दशरथ रगंशालामा खेल्न पाउने हुँदा सबै खेलाडी उत्साहित हुनु स्वभाविक बताउँछिन्।

‘फुटबल खेलाडीले दशरथ रंगशालामा खेलेको छैन भन्दा सुन्नेलाई पनि अचम्म लाग्न सक्छ,’ हाँस्दै उनले थपिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .