सुरुवाती अग्रता जोगाउन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनीसँग अंक बाँडेको छ।
बुधबार दशरथ रगंशालामा भएको खेलमा चितवन र लुम्बिनीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
दुई गोलले पछि परेको अवस्थामा बुटवल लुम्बिनीले उत्कृष्ट पूनरागमन गर्दै बराबरी गरेपछि अंक बाँड्न सफल भएको हो।
चितवनका लागि जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गर्दा बुटवल लुम्बिनीका आशिष लामा र लक्ष्मण रुचालले बराबरी गोल फर्काए।
खेलको १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका थिए। गोरान जर्काेभिचले दिएको पासलाई सिक्स यार्ड बक्सभित्र ओमोलाजा नुरेन करिमले क्लियर गर्न नसकेको बललाई जर्जप्रिन्सले ट्यापिङमा गोल गरे।
त्यसको तीन मिनेटपछि नै टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनको अग्रता दोब्बर पारे।
उनले सिमन्त थापाको क्रसमा गोलरक्षक विशाल श्रेष्ठले बचाउन नसकेको बललाई दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए।
३१औं मिनेटमा आशिष लामाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। ६५औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
विराज महर्जनको क्रसलाई गोलरक्षक विशाल सुनारले अघि बढेर पञ्च गर्ने प्रयास गरे पनि फुत्काएको बललाई लक्ष्मणले जाली चुमाएका थिए।
बुटवल लुम्विनीका लक्ष्मण रुचाल इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए।
उनले १० हजार रुपैयाँ हात पारे। एफसी चितवनका जर्जप्रिन्स कार्की खेलको प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार रुपैयाँ हात पारे। लिगमा चितवनले लगातार दोस्रो बराबरी गरेको हो।
चितवनले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो।
बुटवल लुम्बिनीको यो पहिलो बराबरी हो। यसअघि बुटवल लुम्विनीले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो।
बराबरीपछि चितवनको दुई खेलबाट २ अंक पुगेको छ। बुटवल लुम्बिनीको २ खेलबाट ४ अंक पुगेको छ।

प्रतिक्रिया