खेलको तेस्रो मिनेटमा नै नेपाल पछि परेको थियो। दारुलका निकोलस अबर्टोले फ्रिकिकमा गोल गर्दै जोहोरलाई अग्रता दिलाएका थिए। उक्त गोल नै निर्णायक बन्यो।

मुख्य खेलाडी तथा नियमित कप्तान विराज महर्जन, गोलरक्षक किरण चेञ्जोङ तथा मिडफिल्डर रोहित चन्दले यस खेलमा भने आराम पाएका थिए। विराज नेपालमै हुँदा किरण जापानी क्लबमा ट्रायल दिन गएका छन् भने रोहित इन्डोनेसियन लिगमा ब्यस्त छन्।
विराजको अनुपस्थितिमा खेलको कप्तानी मिडफिल्डर सुजल श्रेष्ठले गरेका थिए।
नेपाली प्रशिक्षक योहान कालिनले सुरुवाती एघारमा बिमल घर्तिमगरलाई एक्लो फरवार्डका रुपमा खेलाएका थिए। मिडफिल्डमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई र रबि पासवानलाई उतारेका कालिनले डिफेन्डरको जिम्मा सुमल अर्याल, देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारीलाई दिएका थिए। नेपाली पोस्ट भने विकेश कुथुले सम्हालेका थिए।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो।
फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्र दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे छन्।
फिफा वरियताका आधारमा नेपाल सोझै फिफा विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणमा प्रवेश पाएको। दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्देछन्। समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन्।
यस्तै नेपालले भदौ २४ गते चाइनिज चाइपेइविरुद्ध उसैको मैदानमा खेल्नेछ। नेपालले असोज २३ मा अष्ट्रेलियाविरुद्ध र असोज २८ गते जोर्डनविरुद्ध उनीहरुकै मैदानमा अवे खेलहरु खेल्नेछ।
नेपालले होम खेलहरुमा मंसिर ३ गते कुवेत, चैत्र १३ गते चाइनिज ताइपेइ, चैत्र २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा खेल्दैछ।

प्रतिक्रिया