युरोपेली मुलुक पोल्यान्डमा राजा वीरेन्द्रको सम्झनामा भएको फुटबल प्रतियोगिताको उपाधि होमिज वारसाले जितेको छ।
पोल्यान्डको राजधानी वारसाको डोमिनिका मेरिलिनेगोस्थित वारसा फुटबल सेन्टरको मैदानमा भएको फाइनल खेलमा फिनल्यान्डको लालीगुराँस क्लबलाई २-१ ले हराउँदै होमिज वारसाले उपाधि हात पारेको हो।
विजयी होमिजले मेडल, ट्रफी र प्रमाणपत्रसँगै ७ हजार ज्लौटी (नेपाली २ लाख ७० हजार) पुरस्कार प्राप्त गरेको छ।
उपविजेता लालीगुराँसले भने मेडल, ट्रफी र प्रमाणपत्रसँगै ३ हजार ७ सय ७७ ज्लौटी (नेपाली १ लाख ५० हजार) पायो।
यस्तै प्रतियोगितामा तेस्रो भएको एनएफसी उच्जले पनि मेडल, ट्रफी र प्रमाणपत्रसहित २ हजार ७ सय ७७ ज्लौटी (नेपाली १ लाख १० हजार) पुरस्कार प्राप्त गर्यो।
आयोजक क्लब द ब्रदरहुडका संयोजक मुकुल बोहोराका अनुसार प्रतियोगितामा एनएफसी उच्जका राज कुमार लोप्चन बेस्ट प्लेयर तथा होमिज पोल्यान्डका राजन श्रेष्ठ हाई स्कोरर भए।
यसैगरी लालीगुराँसका सशान्त चौहान बेस्ट डिफेन्डर हुँदा होमिजका अनम गुरुङ बेस्ट गोलकिपर भए।
यस्तै बेस्ट फेयर प्लेअवार्ड होमिज वारसाले हात पार्यो।
पोल्यान्डका नेपाली युवाहरूको क्लब द ब्रदरहुड फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा २१ वटा फुटबल क्लब सहभागी भएका थिए। जसमा एउटा मात्र फिनल्यान्डको थियो भने बाँकी सबै पोल्यान्डका फुटबल क्लब थिए।
उक्त प्रतियोगिता क्रिसमसको बिदा सदुपयोग गर्दे डिसेम्बर २५ (बिहीबार) मा सेभेन 'ए' साइडमा आयोजना गरिएको थियो।
प्रतियोगिताका विजेता फुटबल क्लब तथा खेलाडीलाई वारसा क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा बोधराज सुवेदीलगायतले पुरस्कार प्रदान गरेका थिए।
पोल्यान्डमा द ब्रदरहुड फुटबल क्लबले सन् २०१८ देखि हरेक वर्ष राजा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ।
Shares

प्रतिक्रिया