राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर शुक्रबारदेखि बिदा भएका छन्। चार वर्षमा घिसिङले केही महत्त्वाकांक्षी योजनालाई अघि सारे भने केही विवादित पनि बने।
राखेपमा सदस्यसचित नियुक्तिलगत्तै अदालत पुगेका घिसिङ चार महिनापछि राखेपमा फर्किए। सदस्यसचिव नियुक्त भएको १६ दिनमा नै पूर्व सदस्यसचिव रमेश सिलवालले उनीविरुद्ध मुद्दा दायर गरे। जसको कारण उनले चार महिना काम गर्न पाएनन्।
निवर्तमान सदस्यसचिव घिसिङले राखेपमा दर्ता भएका २ सय ९ खेल संघलाई दुई अंकमा झार्ने योजनालाई अघि सार्दै ५६ वटा खेल संघको निर्वाचन गराउन सफल भए। त्यसो त एक दशकभन्दा लामो समय दोहोरो अस्तिवमा रहेको करातेलाई एउटै बनाउनु उनको ठूलो उपलब्धि हो। यद्यपि पौडी, ब्याटमिन्टनलगायतका खेल सघंलाई भने उनले एक बनाउन असफल भए।
नेपाल ओलम्पिक कमिटीको विवादमा सदस्यसचिव घिसिङले सुरुवातमा तदारुकता देखाए पनि पछि त्यसबाट तर्किएको देखिन्छ।
घिसिङले सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदका लागि मिसन २०२६ अन्तर्गत स्वर्णसहित दोहोरो अंकको पदक भन्ने महत्त्वाकांक्षी योजनालाई अघि सारेर लामो समयदेखि खेलाडीलाई प्रशिक्षणमा राखेका छन्। त्यसका लागि उनले २०८० माघ १५ गतेबाट प्रशिक्षण सुरु गराएका थिए।
गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता व्यवस्थापनदेखि लिएर पारदर्शिताका विषयमा उनी विवादमा परे। त्यसका लागि उनले हरेक ठाउँमा जवाफ दिएको बताएका छन्।
कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भने हुने/नहुने अझै अन्योल छ। विगत एक वर्षदेखि कर्णाली प्रदेशले सदस्यसचिव पाउन सकेको छैन। यसले पनि फेरि पनि तोकिएको समयमा दसौँ खेलकुद हुनेमा आशंका गर्ने ठाउँ प्रशस्त देखिन्छ।
घिसिङले आफ्नो कार्यकालमा नेसनल हाइ पर्फर्मेन्स सेन्टर र स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरे। जसले गर्दा नेपाली खेलकुदले उनलाई सम्झिरहने बाटो बनाएका छन्। तर यसलाई आउने सदस्यसचिवले कसरी अघि बढाउँछन्, त्यो भने हेर्न बाँकी नै छ।
घिसिङ अब पूर्व सदस्यसचिवहरूको एक फोरम गठन गर्ने तयारीमा छन्। सदस्यसचिवबाट बिदा भएपछि पनि उनी खेलकुद क्षेत्रमै सक्रिय रहने योजनामा छन्।
उनै निवर्तमान सदस्यसचिव घिसिङसँग गरिएको भिडिओ वार्ता :

प्रतिक्रिया