साबिक विजेता सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै भारतीय टोली लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो।
उपाधिका लागि अब लुका सकरले घरेलु टिम विराटनगर सिटी एफसीसँग भिड्नुपर्नेछ।
निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
पेनाल्टीमा सशस्त्रका दीपेश धिमाल र सविन गुरुङले गोल गर्दा विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके। विशालले प्रहार गरेको बल लुका सकरका गोलकिपर सानफिरले उत्कृष्ट बचाउ गरेका थिए भने नगरकोटीको प्रहार पोलमा लागेर बाहिरिएको थियो।
लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो. आरसानो र पउल ओपारेले गोल गरे। एपीएफका किपर राजु नगरकोटीले लुका सकरका क्याम्भो हिनले प्रहार गरेको बल बचाए पनि हारबाट जोगाउन सकेनन्।
खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर सानफिर भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँगै बिहीबार खेल्ने छ।
उपाधि विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ।
प्रतिक्रिया