ad ad

खेल


अन्तिम  १६ को खेलमा फ्रान्स र पोल्याण्ड भिड्दै

अन्तिम  १६ को खेलमा फ्रान्स र पोल्याण्ड भिड्दै

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २०:३०, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को आजको खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ। समूह चरण हारबाट टुंग्याएका दुई टोली विश्वकप फुटबलको अन्तिम १६ मा भिड्न लागेका हुन्। अबको केहीबेरमा कतारको अल थुमामा स्डेडियाममा  यो खेल सुरु हुँदै छ। 

ट्युनिसियासँग हारका बाबजुद पनि फ्रान्स समूह डी को विजेता बन्दै नकआउटमा पुगेको हो। समूह सी को अन्तिम खेलमा अर्जेन्टिनासँग पराजित हुँदा पोल्याण्डको भेट फ्रान्ससँग तय भएको छ। 

जारी विश्वकपमा नकआउटमा पुग्ने पहिलो टोली बनेको फ्रान्स अन्तिम खेलमा पहिलो रोजाइका खेलाडीलाई विश्राम दिँदा अप्रत्यासित नतिजा भोग्न बाध्य भयो। प्रशिक्षक डिडियर डेसच्याम्प्सले खेलमा पछि परेपछि पहिलो रोजाइको टोली उतारे पनि खेलमा फर्काउन सकेनन्। 

ट्युनिसियाविरुद्ध केलियन एमबाप्पे, ओस्मान डेम्बेले र एन्टोइन ग्रिजम्यानलाई बेन्चमा रिजर्भ राखेका थिए। ट्युनिसियाले अग्रता लिएपछि दोस्रो हाफमा उनीहरुलाई पनि उतारे। खेलको अन्तिममा ग्रिजम्यानले गोल गरे पनि अफसाइटका कारण त्यसले मान्यता पाएन।  

भीएआरले ग्रिजम्यानको गोल खारेज गरेपछि गोलले मान्यता पाउनु पर्ने भन्दै फ्रान्सले अपिल समेत गरेको थियो। फ्रान्सको उजुरी दर्ता पछि पनि निर्णय पुनर्विचार भएन। त्यो हारका बाबजुद पनि साविक विजेता समूहबाट अघि बढ्यो।


१९९८ र २०१८ को च्याम्पियन फ्रान्सले लगातार तेस्रोपटक नकआउटमा स्थान बनाएको छ। यस्तै फ्रान्सले डिफेन्डिङ च्याम्पियन समूहबाटै बाहिरिने क्रमलाई पनि १६ वर्षपछि ब्रेक लगाइ दिएको छ। 

उता सुरुका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको पोल्याण्ड अन्तिम खेलमा भने सोही नतिजा दोहोर्‍याउन असफल भएको थियो। पोल्याण्डका गोल रक्षकले पहिलो हाफको अन्ततिर अर्जेन्टिनी कप्तानको पेनाल्टी रोकेका थिए। 

तर त्यसको केही समयमै त्यो बचाउ खेर गयो र अर्जेन्टिनाले एलेक्सिस म्याक एलिस्टारको गोलमा अग्रता लिएको थियो। दोस्रो हाफमा जुलियन अल्भारेजले अर्जेन्टिनालाई स्पष्ट जित दिलाए। 

हारका बाबजुद पनि गोल अन्तरमा पोल्याण्डले ३६ वर्षपछि नकआउटको यात्रा गरेको हो। मेक्सिकोले साउदीलाई हराउँदै समान ४ अंक बनाए पनि पोल्याण्ड गोलअन्तरमा अघि रहँदा नकआउटमा पुगेको हो। यसअघि पोल्याण्ड १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पहिलो पटक नकआउटमा पुगेको थियो। 

फ्रान्स पोल्याण्डसँग ४० वर्षयता अपराजित छ। यी दुई टोली अहिलेसम्म १६ पटक भिडेका छन्। जसमा फ्रान्स ८ पटक विजयी हुँदा पोल्याण्डले ३ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। ५ खेल बराबरीमा टुंगिएको थियो। २००० पछि भएका तीन खेलमा फ्रान्सले २ खेल जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ। 

१९८२ को विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई ३–२ ले पराजित गरेको थियो। त्यही वर्ष भएको मैत्रीपूर्ण खेलमा पनि पोल्याण्डले ४–० को नतिजा निकालेको थियो। त्यसपछि भने पोल्याण्डले जित हात पार्न सकेको छैन। 

फ्रान्स र पोल्याण्डबीचको बिजेताले क्वार्टर फाइनलमा सेनेगल र इङ्ल्याण्डबीचको बिजेतासँग भिड्ने छ। सेनेगल र इङ्ल्याण्डबीचको खेल पनि आजै राति १२ः४५ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .