फ्रान्स लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार मध्यराति भएको सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
अल बायट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए।
खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेका थिए।
अफ्रिकी टोली मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। फ्रान्स भने ६० वर्षपछि एउटै टोलीले लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने इतिहास बनाउने दाउमा छ।
फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।
यसअघि लगातार दुईपटक विश्वकपको फाइनलमा इटाली, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स र जर्मनीले पनि लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने कीर्तिमान राखिसकेका छन्। लगातार दुईपटक विश्वकपको उपाधि जित्ने कीर्तिमान भने इटाली र ब्राजिलको नाममा छ।
फ्रान्स चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो। सन् १९९८ को विश्वकपको फाइनलमा पुग्दै उपाधि जितेको फ्रान्स सन् २००६ को विश्वकपको पनि फाइनलमा पुगेको थियो। त्यस्तै सन् २०१८ मा भएको विश्वकपमा पनि फ्रान्स फाइनलमा पुगेको थियो।
सातपटक विश्वकपको सेमिफाइनलमा फ्रान्सले केवल तीनपटक मात्र हारको सामना गरेको छ।
यसपटकको विश्वकपको समूह चरणमा अष्ट्रेलियालाई ४–१ ले पछि पारेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो।
यद्यपि समूहचरणको अन्तिम खेलमा भने फ्रान्स १–० ले पछि परेको थियो। अन्तिम १६ को खेलमा पोल्याण्डलाई ३–१ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डमाथि २–१ गोलअन्तरको जित हात पारेको थियो।
प्रतिक्रिया