ad ad

खेल


८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्ड्सलाई पुरानै प्रतिस्पर्धी

८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्ड्सलाई पुरानै प्रतिस्पर्धी

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ७:४२, काठमाडौँ

२०१४ मा अर्जेन्टिनासँग पराजित भएर बाहिरिएको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्किँदा पनि पूरानै प्रतिद्वन्द्वी पाएको छ। तर यसपटक पनि नेदरल्याण्ड्सले ८ वर्ष पहिले बिदा गर्ने टोलीसँग क्वार्टरफाइनलमा भिड्नुपर्ने भएको छ। २०१४ को विश्वकपमा सेमिफाइनलमा भिडेका थिए।

शनिबार राति अमेरिकालाई पराजित गर्दै नेदरल्याण्ड्स र अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेका हुन्। 

विश्वकप फुटबलमा यी दुई टोलीको यो छैटौं भेट हो। पहिलो पटक १९७४ को विश्वकपमा समूह चरणमा भेट भएका थियो। जतिबेला नेदरल्याण्ड्ले अर्जेन्टिनालाई ४–० ले पराजित गरेको थियो। 

१९७८ को विश्वकपमा फाइनलमा भेट हुँदा अर्जेन्टिनाले नेदरल्याण्डसलाई ३–१ ले पराजित गर्दै विश्वकप उपाधि उचालेको थियो। 

१९९८ मा क्वार्टरफाइनलमा भिडेका थिए। त्यो खेल पनि नेदरल्याण्ड्सले २–१ ले जितेको थियो। २००६ मा समूह चरणमा भिड्दा गोलरहित बराबरी खेलेका थिए। 

शनिबार राति आ–आफ्ना खेल जित्दै नकआउटबाट अगाडि बढेपछि यी दुईको भेट पक्का भएको हो। 

शनिबार भएको खेलमा अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टर फाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा नेदरल्याण्ड्स ३–१ ले विजयी भएको हो। 

नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डली ब्लिन र डेन्जल मुम्फ्रिसले एक एक गोल गरे। अमेरिकाका लागि हाजी राइट्सले एक गोल फर्काए। 

खेलको १० औं मिनेटमा डिपेले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा ब्लिनले अग्रता दोब्बर बनाए। 

७६ औं मिनेटमा हाजी राइट्सले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने संकेत गरेका थिए। तर त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्को गोल थप्दै सहज जित हात पार्यो। यसअघि २ गोलमा पास मिलाएका ब्लिनले अन्तिम गोल गरेका हुन्। 

त्यस्तै अर्को खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान  अल्भारेजले १/१ गोल गरे। 

खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। 

यद्यपि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा  अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो।  यससँगै खेल २–१ को अवस्थामा पुगेको हो। 

नेदरल्याण्ड्स समूह ए को विजेता र अर्जेन्टिना समूह सीको विजेताका रुपमा नकआउटमा पुगेका हुन्। जारी विश्वकपमा नेदरल्याण्ड्स अपराजित छ। अर्जेन्टिना भने पहिलो खेलमै साउदीसँग अप्रत्यासित रुपमा पराजित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .