ad ad

सुदूरपश्चिम


हरेक वर्ष बाढीको त्रास : पानी पर्न थालेदेखि सुत्न सकेका छैनन् कुतियाकबरवासी

जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयको गुनासो
हरेक वर्ष बाढीको त्रास : पानी पर्न थालेदेखि सुत्न सकेका छैनन् कुतियाकबरवासी

कुतियाकबर


गोकुल जोशी
असार १६, २०७९ बिहिबार ७:४५, महेन्द्रनगर

महाकाली पारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर। जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउँछ। 

बर्खा लागेसँगै कञ्चनपुरको​ दोधाराचाँदनी नगरपालिका–१०, कुतियाकबरका बासिन्दा त्रसित बनेका छन्। मनसुन सुरु भएर वर्षा हुन थालेपछि कुतियाकबरका स्थानीय राति सुत्नसमेत सकेका छैनन्। 

कुतियाकबर

वर्षायाम लागेयता आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय बसन्ती सुनार बताउँछिन्। ‘मंगलबार रातिदेखि पानी परेपछि सुत्न पाएका छैनौँ, बेलाबेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ’, उनले भने, ‘कति बेला नदी बढेर गाउँ पस्छ भन्ने डरमा रात काट्नुपरेको छ।’

सुनारको घरमा दुई ससाना छोराछोरी र वृद्ध आमा छन्। यहाँका स्थानीयले लत्ताकपडा पोको पारेर अन्यत्र सर्न तयारी थालेका छन्। ‘यस्तै पानी रहिरह्यो भने बस्न सकिँदैन, ज्यान जोगाउन मुस्किल पर्छ’, उनले भनिन्, ‘त्यसैले लत्ताकपडा तयारी अवस्थामा राखेका छौँ।’

यहाँ ४ सयभन्दा बढी व्यक्तिको बसोबास छ। जो सीमामा देश रक्षक बनेर बसेका छन्। हतियार, बर्दीबिना मातृभूमिको रक्षा गरिरहेका छन्। तर सीमाका पहरेदार कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। 

कुतियाकबर

‘महाकाली र जोगबुढा नदीले घेरेको छ, नदीले जमिन कटान गरेर सबै सकिसक्यो’, स्थानीय खड्के बुढाले भने, ‘सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, बाढी आए ज्यान जोगाउन मुस्किल पर्छ।’

वि.सं. २०२८ मा राजा वीरेन्द्रले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ। ‘पहिला २०० बढी घरधुरी थिए। नदीले जमिन बगर बनाएपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्’, बुढाले नेपालखबरसँग भने, ‘अहिले ४० परिवार मात्रै बस्छन्।’
मंगलबार रातीदेखिको वर्षाले महाकाली नदीमा पानीको बढेको स्थानीय हरेन्द्र सुनार बताउँछन्। ‘महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ, कुनै बेला पनि नदी गाउँ बस्न सक्छ’, उनले भने।

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ।

‘गत कार्तिकको बाढीले जग्गा जमीन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो, खेतीयोग्य जमीनमा पूरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ’, स्थानीय ऐनबहादुर सुनारले भने, ‘बर्सेनि बाढीको समस्या झेल्नुपर्छ, तर सरकारले हाम्रो पीडा सुनेको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .