ad ad

सुदूरपश्चिम


धनगढीमा हमाललाई पहिलो गासमै ढुंगा

बजेटमा उपमेयरको भाँजो
धनगढीमा हमाललाई पहिलो गासमै ढुंगा

गोकुल जोशी
असार २०, २०७९ सोमबार २१:१२, कञ्चनपुर

कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको मेयर गोपाल हमालले घोषणा गरेका छन्।

विवादकाबीच मेयर हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतका साथ पारित भएको घोषणा गरेका हुन्।

यसमा उपमेयर कन्दकला कुमारी रानाले भने असहमति जनाएकी छन्। असार १० गते नगर सभामा १ अर्ब ८३ करोड बजेट प्रस्तुत गरिएको थियो। 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न सोमबार दिउँसो १ बजे नगर सभा सुरु भयो। 

दिउँसो १ बजेदेखि ८ बजेसम्म करिब ७ घण्टा चलेको बैठकमा मेयर हमाल र उपमेयर रानाबीचको विवाद बैठक अवधिभर चर्काचर्की परेको थियो। 

बजेट, योजना तर्जुमा र नीति निर्माणमा आफूलाई बेवास्ता गरिएको भन्दै उपमेयर रानाले बजेट पास हुन नदिने अडान लिएकी थिइन्। यसै विषयमा मेयर हमाल र उपमेयर रानाबीच नगर सभामै भनाभन भएको थियो।

त्यसपछि मेयर र उपमेयरको पक्षमा उभिएका नगर सभाका सदस्यहरु आक्रोशित समेत बने। मेयर र उपमेयरको भनाभन पछि सभामा नगर सभा सदस्यहरुले कुर्सी तोडफोड समेत गरेका थिए।

केही समय अवरुद्ध समेत रहेको नगर सभा बैठकमा नगर सभा सदस्य, मेयर, उपमेयर र कर्मचारीहरु आफ्नो कुरा राख्दै गर्दा बैठक लम्बियो। 

संविधानले प्रदान गरेको बजेट निर्माणको अधिकार खोसिएको उपमेयर रानाले गुनासो गरिन्। 

‘कस्को अधिकार के हो स्पष्ट छ, तर काम गर्दा कुनै सरसल्लाह भएन, बजेट तर्जुमा समितको संयोजक उपमेयर हो, संविधानले दिएको अधिकार किन मिचियो?’ उनले प्रश्न गरिन्।

मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले छुट्टै बसेर योजना तर्जुमा गरेको उनको आरोप थियो। त्यसपछि मेयर हमालले उपमेयरलाई बेवास्ता गर्न नखोजिएको भन्दै प्रष्टिकरण दिएका थिए।

‘मैले र हाकिमसावले खुस्स गएर बनाएको बजेट होइन, विज्ञहरु राखेर बनाएको बजेट हो, विधिसंगत बनाइएको छ’, मेयर हमालले भने, ‘उहाँ (उपमेयर)ले आरोप लगाउनु भन्दा अगाडि संविधान पढ्नु पर्यो।’

यही विषयमा नगर सभा लम्बिए पछि निकास दिन मेयर हमालले बैठकमा बजेट पारित गर्न सघाउन आग्रह गरिरहेका थिए।

उनले भनेका थिए, ‘के हटाउनु पर्ने हो, हटाऔँ, छलफल गरौँ, आजै बजेट पारित गरौँ।’

यद्यपी बजेट पारित गर्नमा उपमेयर रानाले भाँजो हालिन्। उनले उपमेयरको अपमान भएकाले मेयर र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएको भन्दै बजेट पारित गराउन नसक्ने अडान गरेकी थिइन्।

अन्तमा विवादकैबीच मेयर हमालले बहुमतका साथ बजेट पारित भएको घोषणा गर्दै नगर सभाबाट निस्किए। 

‘बहुमतका हिसाबले बजेट पारित हुन्छ, अर्को बैठक २७ गते दिउँसो १ गते बस्छ,’ उनले भने।

उपमेयर रानाले भने बजेटमा आफ्नो सहमति नभएको बताएकी थिइन्। 

‘पेलेरै लग्दै हुनुहुन्छ, मेयर र हाकिमसावको चित्तबुझ्दो जवाफ पाइएको छैन,’ उनले भनेकी थिइन्, ‘यस्तो अवस्थामा अगाडि बढ्न सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .