ad ad

सुदूरपश्चिम


महेन्द्रनगरबाट दिल्ली जाने बसलाई भारतीय अवरोध, बनबासामा रोकियो

महेन्द्रनगरबाट दिल्ली जाने बसलाई भारतीय अवरोध, बनबासामा रोकियो

गोकुल जोशी
चैत ३, २०७९ शुक्रबार १५:८, कञ्चनपुर

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट भारतको दिल्ली जाने ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गरेको छ।

शारदा ब्यारेज नजिक भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली नम्बर प्लेटका बस रोकेर यात्रु ओरालेका छन्। नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको उनीहरुको आरोप छ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो।

‘भन्सार सुविधामा अन्धाधुन्द ढंगले लामो रुटमा पनि भारतीय ट्याक्सीहरुले यात्रु ओसारिरहेका छन्,’ महाकाली बहु उद्देश्यीय यातायात प्रालिका उपाध्यक्ष विष्णु कँडेलले भने, ‘त्यसले एकातर्फ नेपाली व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ सुरक्षाको सवाल पनि भएकाले महेन्द्रनगर बाहिर जाँदा नियन्त्रण गर्न प्रशासनलाई अनुरोध गरिएको हो।’

नेपाल घुम्न आउने पर्यटक र सीमावर्ती बजारबाट सञ्चालित ट्याक्सीहरुको हकमा भने प्रशासनलाई त्यस्तो अनुरोध नगरिएको व्यवसायी कँडेलले बताए।

‘महेन्द्रनगरसम्म आउजाउ गर्दा समस्या भएन, तर दिल्लीबाट सिधै ट्याक्सी बुक गरेर बाजुरा, बझाङसम्म जाने कुरामा हामीले आफ्नो सरोकार व्यक्त गरेका हौँ,’ उनले भने, ‘तर, बनबसाका व्यवसायीहरुको बुझाइमा समस्या देखियो, आज उहाँहरुसँग भेटेर यसबारे प्रष्ट पारेका छौँ।’

हिजो सीमा क्षेत्रमा मैत्रीपूर्ण बस सेवालाई भारतीय व्यवसायीहरुले अवरोध सिर्जना गरेपछि महाकाली बहुउद्देश्यीय प्रालिका अध्यक्ष डम्बर पन्त नेतृत्वको टोली शुक्रबार सीमावर्ती बजार बनबसा पुगेको थियो।

पन्त नेतृत्वको टोलीले त्यो प्रशासनिक निर्णय भएको र सीमावर्ती बजारका व्यवसायीलाई मर्का नपर्ने ढंगले प्रशासनसँग सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छ।

भारतीय व्यवसायीहरुले नेपाली प्रशासनले ट्याक्सी प्रवेशमा रोक लगाएमा आफूहरुले पनि नेपाली बसमा अवरोध गर्ने जनाएका छन्।

उनीहरुले चम्पावतका डीएम नरेन्द्रसिंह भण्डारीलाई पनि यसबारे नेपाली पक्षसँग समन्वयका लागि आग्रह गरेका छन्। स्थानीय ट्याक्सीको हकमा प्रशासनलाई रोक्न नभनेको नेपाली व्यवसायीले बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले नेपाली बस रोकिएकोबारे आफूलाई आधिकारीक जानकारी नआएको बताए।

‘व्यवसायीहरुको अनुरोधमा मनपरी ढंगले सञ्चालन भइरहेका ट्याक्सीलाई रोक्ने निर्णय गरिएको छ,’ उनले भने, ‘त्यसको विरोधमा मैत्री बस सेवामा अवरोध गरिएको सुन्नमा आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .