सुदूरपश्चिम


शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला

शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला

फाइल।


नेपालखबर
चैत २०, २०७९ सोमबार ८:५०, काठमाडौँ

शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट  खुला गरिएको छ। जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्। 

नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो।

राजपत्रमा नगरपालिकाले भूउपयोग ऐन र नियमावलीअनुसार  भूउपयोग क्षेत्र कित्तागत विवरण, भूउपयोग परिषद्बाट स्वीकृत नक्सा र भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड तथा आधारलाई अन्तिम रुप दिएको छ। 

नगरपालिकाले नगर क्षेत्रत्रिको २१ हजार चार हजार नौ कित्ताको वर्गीकरण गरेको छ। नगरपालिकाको नापी शाखाका प्रमुख हेमराज अवस्थीका अनुसार कृषि क्षेत्र २२ दशमलव २१ प्रतिशत, आवासीय क्षेत्र १२ दशमलव ५० प्रतिशत, व्यावसायिक क्षेत्र १ दशमलव ४०, औद्योगिक क्षेत्र शून्य दशमलव १७, खानी तथा खनिज क्षेत्र शून्य दशमलव ०३ प्रतिशतका क्षेत्रमा वर्गाीकरण गरिएको छ।

 यसैगरी, वन क्षेत्र ५४ दशमलव १५, सार्वजनिक उपयोग क्षेत्र, तीन दशमलव ८९ प्रतिशत सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र शून्य दशमलव ०८ प्रतिशत नदी खोला तथा सिमसार क्षेत्र पाँच दशमलव ५१ प्रतिशत क्षेत्रमा वर्गीकरण गरिएको छ। नगरपालिकाको कूल क्षेत्रफल १६३५८१४५ दशमलव छ वर्गमिटर रहेको छ। 

आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिकरुपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने भूउपयोग नियमावलीले व्यवस्था गरेको छ। 

“भूउपयोग नीति २०÷२५ वर्ष अगाडि बनेको भए धेरै काम हुन्थ्यो”, नगर प्रमुख महराले भन्नुभयो, “ढिलै भए पनि भूउपयोग क्षेत्रको वर्गीकरण गरेका छौँ, यसले कृषि क्षेत्रको जग्गा संरक्षण र आगामी नीति तथा योजना बनाउन सहज हुने छ ।” 

नगरापलिकाका सबै जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट भूउपयोग क्षेत्रको वर्गीकरण गर्न सफल भएको उनले बताए। सरकारले भूउपयोग नियमावली बनाएसँगै सबै पालिकामा जग्गाको वर्गीकरण गर्ने काम भइरहेको नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पालले बताए। उनका अनुसार कञ्चनपुरका नौ पालिकामध्ये भूउपयोग क्षेत्रको वर्गीकरण गर्नेमा शुक्लाफाँटा दोस्रो बनेको छ।

्भीमदत्त नगरपालिकाले यसअघि भू–उपयोग क्षेत्रको वर्गीकरण गरेको थियो। ‘भूउपयोग क्षेत्रको वर्गीकरण नयाँ अभ्यास हो, यसका दीर्घकालीन धेरै फाइदा छन्’, नापी कार्यालयका प्रमुख पालले भने, ‘भूउपयोग क्षेत्रको वर्गीकरणले स्थानीय तहलाई नीति तथा योजना बनाउन सहज हुनेछ।’

एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा उपयोग गर्न नमिल्ने उनले बताए। उनका अनुसार कसैले भूउपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिकामा निवेदन दिनुपर्ने छ।

‘स्थानीय भूउपयोग परिषद्को बैठकमा भूउपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेस गर्छ र प्रदेश भूउपयोग परिषद्मा पठाउँछ’, नापी प्रमुख पालले भने, ‘सङ्घीय भूउपयोग परिषद्ले औचित्य पुष्टि भएपछि कित्ता परिवर्तन गर्न स्वीकृत दिन्छ।’ यसअघि भीमदत्त नगरपालिकाले भूमिको वर्गीकरण गरी कित्ताकाट खुला गरेको थियो। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका भूमि वर्गीकरण भीमदत्तपछि दोस्रो नगरपालिका बनेको छ। 

अन्य स्थानीय तहमा जग्गा वर्गीकरण अघि बढेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad