ad ad

सुदूरपश्चिम


मन्त्री फेर्ने पक्षमा बहुमत सांसद, दलको नेताबाट खगराजलाई हटाउने चेतावनी

मन्त्री फेर्ने पक्षमा बहुमत सांसद, दलको नेताबाट खगराजलाई हटाउने चेतावनी

गोकुल जोशी
पुस २२, २०८० आइतबार १५:२६, कञ्चनपुर

सत्तारुढ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा किचलो देखिएको छ। संसदीय दलका नेता खगराज भट्टविरुद्ध बहुमत सांसदहरूले मोर्चाबन्दी गरेका छन्।

प्रदेश सरकारलाई लिएर माओवादीभित्र असन्तुष्टि चर्किंदै गएको हो। संसदीय दलका नेता भट्टसहित प्रदेश सरकारमा पठाएका मन्त्रीले कामकाज गर्न नसकेको भन्दै माओवादीकै सांसदहरू असन्तुष्ट बनेका छन्।

रुष्ट सांसदहरूले मन्त्री फेर्न डेलिगेसन लिएर शीर्ष नेतृत्व गुहारेका छन्। बहुमत सांसद मन्त्री फेर्ने कसरतमा जुटेपछि खैलाबैला मच्चिएको छ।

माओवादीबाट सांसद जितेर सुदूरपश्चिम प्रदेश सभाको सभामुख बनेका भीमबहादुर भण्डारी नै मन्त्री फेर्न लबिङमा छन्। आफ्ना मन्त्री र संसदीय दलका नेता खगराज भट्टप्रतिको गुनासो बोकेर संघीय राजधानी काठमाडौँ शीर्ष नेतृत्वलाई गुहार्नेमा सभामुख भण्डारी पनि छन्।

उनीसहित माओवादीका ७ सांसदले शनिबार माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर प्रदेश सरकारका विषयमा गम्भीर बन्न आग्रह गरेका थिए।

उनीहरूले गृहमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र सचिव तथा सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यलाई पनि भेटेर माओवादी मन्त्री हेरफेरको माग गरेका छन्।

सक्रिय सांसदलाई सरकारमा पठाउनुपर्ने उनीहरुको माग छ।

‘प्रदेश सरकार सुस्त भयो। कामकाज गर्ने तौरतरिका भएन। हाम्रा मन्त्रीले पनि प्रभावकारी काम गर्न सकेनन्,’ माओवादी सांसद शिवसिंह ओली भन्छन्, ‘त्यसैले समीक्षा गरेर मन्त्री हेरफेर गर्नुपर्ने माग राखेका हौँ। बहुमत सदस्य मन्त्री फेर्ने पक्षमा रहेकाले यो विषय गम्भीर रुपमा अघि बढेको छ।’

माओवादी सांसदहरूको रिपोर्टिङपछि मन्त्री हेरफेरको विषयमा शीर्ष नेतृत्व सकारात्मक देखिएको दाबी छ।

संसदीय दल र दलका नेता भट्टले राम्रो काम गर्न नसकेको माओवादी सांसदले शीर्ष तहमा गुनासो गरे। काठमाडौँ पुगेका बहुमत सांसदहरूले माग सम्बोधन नभए दलको नेता नै फेर्ने चेतावनी दिएका छन्।

भट्ट संसदीय दलमा अल्पमतमा देखिन्छन्। सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन्। मन्त्री फेर्ने पक्षमा सभामुख भीमबहादुर भण्डारीसहित ७ सांसद उभिएका छन्।

प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक मन्त्री फेर्ने कसरतमा देखिएका हुन्।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तीन मन्त्री छन्। सामाजिक विकास मन्त्रालयमा झपट बहादुर साउँद र उद्योग, पर्यटन, वन तथा वातावरणमा रमेशसिंह धामी छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीता माल नै मन्त्री फेर्नुपर्ने पक्षमा उभिएकी छन्। संसदीय दलका नेता भट्टको पक्षमा अहिले मन्त्रीद्वय साउँद र धामीका साथै सांसद जानकीदेवी कुँवर छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .