ad ad

सुदूरपश्चिम


खगराजलाई दलको नेताबाट हटाएकोबारे प्रदेश कमिटी बेखबर

खगराजलाई दलको नेताबाट हटाएकोबारे प्रदेश कमिटी बेखबर

गोकुल जोशी
माघ १२, २०८० शुक्रबार २०:१२, कञ्चनपुर

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ। भट्टप्रति रुष्ट माओवादी सांसदले बहुमत जुटाएर उनलाई दलको नेताबाट हटाएका हुन्।

दलको नेताबाट भट्टलाई हटाएको सम्बन्धमा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कलबहादुर रावलले संसद सचिवालयलाई पत्र समेत लेखिसकेका छन्।

बहुमत सांसदले संसदीय दलको नेतामा दार्चुलाबाट विजयी मानबहादुर धामीलाई चयन गरेका छन्। माओवादी केन्द्रको संसदीय दल नेता परिवर्तनको पत्र प्राप्त भएको सुदूरपश्चिम प्रदेश संसद सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

संसदीय दलको नेता फेरिएको विषयमा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी भने बेखबर छ। प्रदेश कमिटी सचिव जनक बुढाले दलको नेता परिवतर्नबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए।

‘संसदीय दलको नेता फेरबदलको बारेमा पार्टीलाई केही थाहा छैन। बाटो, खेत र चौतारामा दलको नेता परिवर्तन गरे होलान्,’ उनले भने, ‘हामीलाई केही औपचारिक जानकारी आएको छैन।’

भट्टविरुद्ध मोर्चाबन्दी गर्दै बहुमत सांसद जुटाएर संसदीय दलको नेताबाट जिम्मेवारीमुक्त गरेपछि उनले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन्।

प्रदेश सरकारमा सामेल माओवादीका मन्त्रीले प्रभावकारी काम गर्न नसकेको र दलको नेता भट्टले पनि पदीय भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्ट माओवादी सांसद डेलिगेसन लिएर पुस तेस्रो साता काठमाडौँ गएका थिए।

उनीहरुले काठमाडौँमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेतालाई भेटेर माओवादीका मन्त्री र दल नेताको विषयमा लिखित गुनासो नै गरेका थिए।

पत्रमा सरकारको कामले जनतामा विश्वास घटिरहेको, बजेट पारित गर्दा सरकारसँग भएको सहमति कार्यान्वयन नगरेको जसका कारण सांसदहरु आफ्नो निर्वाचन क्षेत्र जान नसकेको र माओवादीको हैसियत अनुसार वरियता नदिएको उल्लेख छ।

यस्तै, सरकार र संसदीय दलकोबीचमा समन्वय गर्नुका साथै प्रभावकारी नेतृत्व गर्नु पर्नेमा संसदीय दलको नेता भट्टले उक्त भूमिका निर्वाह गर्न उदासिनता र अकर्मण्यता देखाएको र जसले नेतृत्वप्रति असन्तुष्टि बढेको उनीहरुको आरोप छ।

संसदीय दलले प्रभावकारी भूमिका निर्वाह नगरेकोले दल नेता परिवर्तन गर्नु परेको नेता मानबहादुर धामीले बताए। उनी यसअघि सुदूरपश्चिम प्रदेश सभामा माओवादीका प्रमुख सचेतकको भूमिका थिए।

अघिल्लो पटक पनि सांसद रहेका धामीले त्यस बेला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

खगराज भट्ट संसदीय दलमा अल्पमतमा परेका छन्। उनको साथमा बहालवाला मन्त्रीद्वय रमेश धामी, झपड साउँद र सांसद जानकीदेवी कुँवर छन्।

उनीहरु शुक्रबारको दल नेता फेर्ने निर्णय हुँदाको बैठकमा सहभागी नै भएनन्। संसदीय दलका उपनेता अक्कलबहादुर रावल, राज्यमन्त्री गीता माल, सांसदहरु ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक उपस्थित बैठकले भट्टलाई दल नेताबाट हटाएको हो।

पार्टी केन्द्रसँग सल्लाह गरेरै संसदीय दलको विधानअनुसार दल नेता परिवर्तन गरिएको उनीहरुको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .