सुदूरपश्चिम


घर फर्किने तयारीमा थियो भट्ट परिवार, बिदा हुनै लाग्दा दुर्घटनामा पर्‍यो

घर फर्किने तयारीमा थियो भट्ट परिवार, बिदा हुनै लाग्दा दुर्घटनामा पर्‍यो

गोकुल जोशी
मंसिर २४, २०८१ सोमबार ११:१, काठमाडौँ

कञ्चनपुरको महेन्द्रनगरका रामदत्त भट्ट शिक्षा विकास तथा समन्वय एकाइ, डोटीमा कार्यरत थिए। उनको केही दिनअघि मात्रै बाजुरा सरुवा भयो। 

भट्ट शुक्रबार बाजुरा पुगेर कार्यालय हाजिर भए। बाजुरा जाँदा साथमा श्रीमती राधिका भट्टसहित अन्य आफन्त पनि थिए। सुदूर पहाडको घुमफिरमा थिए, उनीहरू। 

पारिवारिक स्रोतका अनुसार भट्ट आइतबार बाजुराबाट महेन्द्रनगर घर फर्किने तयारीमा थिए। त्यो दिन भट्ट कार्यालयमै बसे। श्रीमती राधिकासहित ५ जना मार्तडीस्थित मालिका मन्दिरको दर्शन गर्नतिर लागे।

मन्दिरको दर्शन गरेर आइतबार नै उनीहरू महेन्द्रनगर आउने तयारीमा थिए। मार्तडीमा घरका लागि फलफूल, दाल किन्ने सोचेका थिए। तर, मालिका मन्दिरको दर्शन गरेर फर्किरहेका श्रीमतीसहित अर्की एक आफन्तसँग भेट नै हुन पाएन। मार्तडीस्थित कार्यालय फर्की नसक्दै उनीहरू सवार सुपप्र ०१००१ च ४३१६ नम्बरको जिप दुर्घटनामा पर्‍यो।

दुर्घटनामा भट्टकी श्रीमती राधिकाले ज्यान गुमाइन्। उनका आफन्त कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का लोकेन्द्र पन्त घाइते भए। 

पन्तकी श्रीमती गायत्रीले पनि घटनास्थलमै ज्यान गुमाउनुपर्‍यो। उनी भीमदत्तनगरको सुकासालस्थित माइ सेन्सोरियम स्कुलमा पढाउँथिन्। घाइते उनका श्रीमान् लोकेन्द्र भीमदत्तनगरको ओदालीस्थित बीपी कोइराला आधारभूत विद्यालयका शिक्षक हुन्।

यस्तै, दुर्घटनामा परेर कृष्णपुर नगरपालिका–५ का मोहनदेव भट्ट र बाजुराको गौमुल गाउँपालिका–४ का रमेश धामी पनि घाइते भए। मोहनदेवले गाडी चलाइरहेका थिए।

धामी शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका भान्से हुन्। 

पहाडी जिल्लाबाट फर्किँदा घरका लागि ल्याउने भनेको दाल बाटोमै रह्यो। श्रीमती र आफन्त गुमाएको पीडा मनमा थिचेर समन्वय एकाइ प्रमुख भट्ट उनीहरूको शव लिएर महेन्द्रनगर आइपुगेका छन्।

‘घरका लागि दाल लिएर आउने भनिरहनुभएको थियो। दिउँसो ३ बजेतिर सबै तराईँ झर्दै हुनुहुन्थ्यो,’ भट्ट परिवारका एक सदस्यले भने, ‘बेलुका डडेल्धुरा बस्ने तय भएको थियो। तर दिउँसो १ बजेतिर त्यस्तो दुःखद् घटना भयो।’

मृतकको सोमबार भुजेला घाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिँदै छ। घाइते दुई जनालाई उपचारका लागि बाजुराबाट कैलालीको धनगढी ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad