सुदूरपश्चिम


विदेशबाट फर्किएर उद्यममा जमेकी अम्बिका, अहिले पठाउँछिन् विदेशमै नेपाली परिकार

‘फेसन डिजाइनिङ’ छोडेर मौलिक परिकार उत्पादन
विदेशबाट फर्किएर उद्यममा जमेकी अम्बिका, अहिले पठाउँछिन् विदेशमै नेपाली परिकार

गोकुल जोशी
चैत २३, २०८१ शनिबार २१:५३, कञ्चनपुर

चितवनको भरतपुर महानगरपालिका-१० की अम्बिका धिताल केही वर्षअघि विदेशमा थिइन्। लन्डन र अष्ट्रेलियामा उनी फेसन डिजाइर थिइन्। स्वदेशमै उद्यम गर्ने सोच बनाएर उनी वि.सं. २०७५ सालमा फर्किइन्।

अहिले धितालले भरतपुरमा मान्द्रो नेपाल उद्योग सञ्चालन गरिरहेकी छन्।  उनको उद्योगमा मस्यौरा, गुन्द्रुक, मुलाको चाना, सिन्की, गाभा, अमलाको तितौरा, निउरो लगायत उत्पादन गरिन्छ।

मान्द्रो नेपालले उत्पादन गर्ने मस्यौरा धेरै रुचाइएको छ। धिताललाई मस्यौरोको माग पूर्ति गर्न भ्याइनभ्याइ हुने गरेको छ। उनलाई स्वदेशदेखि विदेशबाट पनि मस्यौराको माग आउने गरेको छ।

‘उत्पादनको ६० प्रतिशत मार्केट विदेशमा छ। विदेश जाँदा आफन्तलाई किनेर लैजाने गर्छन्,’ धितालले भनिन्, ‘स्वदेशमै उद्यममा पनि जोडिएको छ। विदेशमा रहेका नेपालीलाई मौलिक स्वाद चखाउन पाउँदा निकै सन्तुष्टि लाग्छ।’

उनका अनुसार अष्ट्रेलिया लगायत देशमा काम गर्दा त्यहाँ नेपाली उत्पादन कमै हुन्थे। भारत, चीन, मलेसिया लगायत विदेशी मुलुकका सामान हुन्थे। विदेशमा नेपाली उत्पादन नदेखेपछि त्यो अभावलाई चिरेर मौलिक स्वाद पस्किने सोचले स्वदेशमा आएर उद्यममा लागेको धिताल बताउँछिन्।

‘त्यहाँ नेपाली उत्पादन देखिँदैनथ्यो। विदेशी उत्पादन मात्रै हुन्थ्यो। त्यसैले मौलिकता झल्किने उत्पादन विदेश निकासी गर्ने योजना बनाएँ,’ उनले भनिन्, ‘जसले परम्परागत मौलिक स्वाद पस्किन सकिन्थ्यो। त्यसैले स्वदेशमा आएर उद्यम चलाएँ।’

सुरुआतमा मस्यौरा, गुन्द्रुक उत्पादन गरेको उनले बताइन्। उत्पादनले राम्रो बजार पाएपछि अन्य परिकार पनि थप्दै गएको उनको भनाइ छ।

उद्योगमा उत्पादित परम्परागत नेपाली उत्पादनलाई प्याकेजिङ गरेर विभिन्न देश निकासी भइरहेको अम्बिका बताउँछ्नि्।

उत्पादनको ‘मार्केटिङ’का अम्बिका नेपाली बसोबास गर्ने स्थानमा केन्द्रित भएर लाग्ने मेला महोत्सवमा पुगेर उत्पादन प्रदर्शनमा समेत राख्ने गर्छिन्।

केही साताअघि भारतको उत्तराखण्ड राज्यको देहरादूनमा आयोजित इन्डो-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवमा पनि आफ्ना उत्पादन लिएर धिताल देहरादून पुगेकी थिइन्। देहरादूनका गोर्खालीले उत्पादन रुचाएर राम्रो व्यापार भएको उनी बताउँछिन्। 

‘पुर्खौंदेखि बसेका नेपाली मौलिक उत्पादन असाध्यै मन पराए। २ क्विन्टल मस्यौरा लगेका थियौँ,’ उनले भनिन्, ‘सबै बिक्री भयो।’

विभिन्न किसिमका तरकारी प्रशोधित गरेर परिकार उत्पादन गर्ने गरिएको उनी बताउँछिन्। उनले ८ कट्ठा जमिन लिजमा लिएर पिँडालु, कोपिण्डो लगायत खेती पनि गरेकी छन्।

अम्बिका विदेशबाट फर्किर आफू मात्रै उद्यममा जोडिएकी छैनन्, उनले स्थानीय १५ जना महिलालाई पनि रोजगारीमा जोडेकी छन्। घरको कामसँगै उनीहरूले पनि आम्दानी गरिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad