भीमदत्त नगरपालिका–६ का ५१ वर्षीय नरेन्द्र खत्री एक दशकअघिसम्म कुस्ती खेल्थे। वि.सं. २०४७ सालदेखि कुस्ती खेल्न थालेका उनी स्थानीय हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सामेल भए। उनी कहिल्यै पदकविहीन भएनन्।
वि.सं. २०५४ सालमा पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए, खत्री। उनले खेलाडी भएर प्रतिस्पर्धा मात्रै गरेनन् प्रशिक्षकको भूमिका निर्वाह गर्दै कुस्तीका कयौँ खेलाडी उत्पादन गरे। कुस्तीमा पाखुरा बजारेर आफ्नो खेल कौशलले नाम कमाएका तिनै नरेन्द्र हाल भने मौरी पालनमा व्यस्त छन्।
भनिन्छ, दृढ इच्छा शक्ति र कामप्रतिको कर्मठ लगाव हुनेलाई सफलतामा पुग्नबाट कसैले रोक्न सक्दैन। त्यसकै उदाहरण बनेका छन्, नरेन्द्र। खेल परिवारबाट उठेका उनले सफल कृषकको पहिचान बनाएका छन्।

‘सानोमा मह खान धेरै मन पराउथेँ। जहाँ मौरी देख्यो त्यहाँ मह काढ्न पुगिहाल्थेँ। अध्ययन गर्दै जाँदा मौरी पालनको सम्भावना धेरै राम्रो पाएँ,’ नरेन्द्र भन्छन्, ‘ त्यसपछि मौरी पालनमा लागेको हो।’
सुरुआतामा १० वर्षअघि ३० हजारको लगानीमा ५ घारमा मौरी पालेको उनी बताउँछन्। सँगै उनले भैसीँ, बाख्रा पालन पनि सुरु गरे। ५ घारबाट मौरी पालन थालेका नरेन्द्रले अहिले २ सय घारमा मौरी पालेका छन्।
उनले सेरना र मेलिफेरा जातका मौरी पालेका छन्।
‘महले स्वास्थ्य पनि बन्ने र रोगसँग पनि लड्न सकिने औषधीय गुण हुन्छ,’ उनले भने, ‘ग्राहकलाई मह बिक्री मात्रै गरिएको छैन। सँगसँगै मौरीको बारेमा जानकारी पनि दिन पाइएको छ।’

उनका अनुसार विश्वमा सबैभन्दा बढी पालिने लोकप्रिय मौरी मेलिफेरा हो। जसलाई युरोपियन मौरी भनिन्छ। सेराना मौरी एसिया क्षेत्रमा पाइने गरेको छ। यो पहाडदेखि तराईसम्म पालिन्छ। यसलाई जंगली मौरी पनि भनिन्छ।
उक्त मौरीलाई आधुनिकीकरणमा ल्याएर घारमा राखेर पालन गरेको नरेन्द्रले बताए।
‘घारको मह कक्षबाट निकालिएको महलाई पकाउनु तथा फिल्टर गर्नु पर्दैनन। रुखमा लागेको फल जस्तै हुन्छ,’ उनले भने, ‘ल्यावमा टेस्ट गर्दा पनि फिल्टर गरिएको मह भन्दा रअ मह राम्रो मानिन्छ।’
मौरी पालनबाट नरेन्द्रले नामसंगै गतिलो आम्दानी पनि गरिरहेका छन्। वर्षको १० क्विन्टल मह विक्री गर्ने गरेका छन्। गा्रहक मह लिन घरमै आउने गरेका छन्।
एक हजारदेखि १६ सय रुपैयाँ किलोग्रामका दरले मह बिक्री हुन्छ। ‘वार्षिक सबै खर्च कटाएर १२ लाख बचत हुन्छ। ६ जनाको परिवार छ,’ उनले भने, ‘त्यसैबाट कमाएको पैशाले जीविकोपार्जन भइरहेको छ।’

नरेन्द्रले एसएलसीसम्मको अध्ययन गरेका छन्। नरेन्द्रको परिवारका अन्य २ सदस्य पनि कुस्ती खेल्छन्। उनकी माइली छोरी कोमल र बहिनी लक्ष्मी कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी हुन्।
नरेन्द्र अहिले कुस्ती राष्ट्रिय निर्णायक छन्। खेलसँगै मौरी पालनमा जमेका नरेन्द्र मौरी चराउन दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका जंगल फाँट पुग्ने गर्छन्।
‘सुरुमा ५ घार पाल्दा साइकलमा बोकेर बेलौरी, बेलडाँडीसम्म पुर्याएँ। सबैतिर नेटवर्क बनेको छ। अहिले मौरी कैलालीको मसुरियामा छन्,’ उनले भने, ‘१०/१५ दिनमा गएर हेर्नुपर्छ।
करिब ४ सय किलोमिटरको यात्रा गरेर घारमा मौरीलाई बसाइसराइ गर्दै मह उत्पादन गर्ने गरिएको उनले बताए।

उनका अनुसार मौरीले ल्याउने पराग रसअनुसार नै महको स्वाद हुने गरेको छ। ‘सुगरका बिरामीका लागि जामन, फापरको मह दिन्छौँ। यसमा ग्लुकोजको मात्रा कम हुन्छ,’ उनले भने, ‘गुलियो महका लागि लिची, चिउरी लगायत आहार प्रयोग हुन्छ। महको बजार धेरै ठूलो छ। माग पूर्ति गर्न हम्मे हम्मे पर्छ।’
उनका अनुसार उत्पादित मह नेपालदेखि दुबई, भारतसम्म गइरहेको छ। उनले अब आधुनिक उद्योग स्थापना गर्ने योजना बनाइरहेका छन्।
‘देशको विकासको कृषिक्रान्तिबाटै हुन्छ। त्यस मान्यताका साथ अघि बढेको छु,’ उनले भने, ‘यसमा राज्यले पनि हेर्नुपर्छ। अनुदानले मात्रै काम गर्दैन। वास्तविक रुपमा आवश्यकता अनुसार उद्योग स्थापना, प्रविधि लगायतमा राज्यले सहयोग गर्नुपर्छ।’
Shares

प्रतिक्रिया