सुदूरपश्चिम


उखुले रोक्यो विदेश यात्रा, जुस बेचेर गर्छन् लाखौँ आम्दानी

उखुले रोक्यो विदेश यात्रा, जुस बेचेर गर्छन् लाखौँ आम्दानी

गोकुल जोशी
बैशाख ३०, २०८२ मंगलबार २०:३७, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३१ वर्षीय नीमबहादुर चौधरीलाई उखुको जुस बेच्न भ्याइनभ्याइ छ। गर्मी बढेसँगै उनको जुसको व्यापार पनि फस्टाउँदै गएको छ।

उखु पेलेर जुस बेच्ने चौधरीको दैनिकी व्यस्त बनेको हो। भीमदत्त–४ महेन्द्रनगरमा नीमबहादुरले उखु पेलेर जुस बेच्ने काम गरेर राम्रो आम्दानी गरिरहेका छन्। ३ सदस्यीय परिवारको घरखर्च उनकै आम्दानीमा चलेको छ। खर्च कटाएर दैनिक २ हजारदेखि ३ हजारसम्म बचत हुने गरेको उनको भनाइ छ।

‘गर्मीयाममा उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक दुई हजार ५ सयदेखि ३ हजार रुपैयाँको आम्दानी भइरहेको छ,’ उनले भने, ‘स्वदेशमै गतिलो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता आएको छैन।’

४० रुपैयाँ प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ। उखुको जुस बिक्री गर्नेमा चौधरी दम्पत्ती नै खटिने गर्छन्। श्रीमतीले उखु छिल्नमा सघाउँछिन्, नीमबहादुर उखु पेलेर बिक्री गर्छन्।

‘प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सकिन्छ,’ नीमबहादुरले भने, ‘प्रतिक्विन्टल १ हजारमा उखु पाइन्छ।’ 

 

उनले ९३ हजार रुपैयाँमा उखु पेल्ने मेसिन किनेर २ वर्षअघि यो व्यवसायमा हात हालेका थिए।

यो व्यवसायमा आउनुअघि उनलाई विदेश जाने सोच आएको थियो। तर एकपटक आफ्नै देशमा केही गरौँ भनेर व्यवसायमा आएको उनले बताए। 

‘अर्काको देशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ,’ उनले भने।

उनका अनुसार सबै खर्च कटाएर ३/४ महिनामा अढाई लाख बढी आम्दानी हुने गरेको छ। नीमबहादुरले घर बनाउने मिस्त्रीको काम पनि गर्छन्।

‘कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो। मिस्त्री कामले मात्रै गुजारा चल्लाजस्तो भएन,’ उनले भने, ‘त्यही भएर विदेश जानुभन्दा यहीँ केही गर्छु भनेर यो व्यवसायमा लागेको हुँ।’

उनका अनुसार घर बनाउने मिस्त्री काममा दैनिक एक हजार रुपैयाँ ज्याला पाइन्छ। उनीसँगै श्रीमती पनि मजदुरी गर्छिन्। थोरै लगानीमा छोटो समयमा मनग्य आम्दानी हुने भएकाले गर्मीयाममा उखुको व्यापारमा जुट्ने गरेको नीमबहादुर बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad