सुदूरपश्चिम


महाकालीपारिको बिरानो बस्तीमा बीओपी स्थापना, अबदेखि सुरक्षा पाइने स्थानीयको आशा

महाकालीपारिको बिरानो बस्तीमा बीओपी स्थापना, अबदेखि सुरक्षा पाइने स्थानीयको आशा

गोकुल जोशी
जेठ ६, २०८२ मंगलबार १३:४८, कञ्चनपुर

महाकालीपारिको दोधाराचाँदनी नगरपालिका-३, बडुवाल टोलमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

बडुवाल टोलमा सशस्त्र प्रहरीले सोमबार बीओपी (सीमा चौकी) उद्घाटन गरेर सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बलियो बनाएको को हो। 

सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उदघाटन गरेका हुन्। उनले सीमा सुरक्षा व्यवस्थित बनाउन बीओपी स्थापना गरिएको बताए।

‘हामीसँग स्रोत साधन सीमित छ, सीमामा खटिएर सुरक्षा प्रदान गर्न बीओपी स्थापना गरेका हौँ’, उनले भने।

बडुवाल टोलमा बीओपी स्थापना भएसँगै कञ्चनपुरमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ वटा बीओपी पुगेका छन्। नेपाल-भारत १२९.५ किलोमिटर सीमा क्षेत्र छ।

बडुवाल टोलको बीओपीमा सई करन धामीको नेतृत्वमा २० जना सशस्त्र प्रहरी खटिएका छन्। यो बीओपीले दोधारा चाँदनी ३ को कञ्जुघाटदेखि जिरो प्वाइन्ट नयाँ बस्तीसम्मको ५ किलोमिटर क्षेत्र हेर्ने छ। 

महाकालीपारि पनि जोगबुढा नदीले टाढा बनाएको बडुवाल टोल पश्चिमी सीमाको बिरानो बस्ती हो। 

बडुवाल टोलमा जंगली जनावरको आतंक रहेकाले दोधाराचाँदनीका उपप्रमुख गंगादेवी जोशीले नागरिकलाई सुरक्षित राख्न सहज हुने बताइन्। 

‘बडुवाल टोल सधैँ हात्तीको आतंक हुने क्षेत्र हो, यस क्षेत्रमा तस्करी पनि हुने गरेको छ’, उनले भनिन्, ‘सशस्त्र प्रहरीको बीओपी स्थापना भएसँगै यहाँका नागरिक सुरक्षित भएका छन्।’

बडुवाल टोलमा स्थापना गरिएको बीओपीमा जनशक्ति थप गर्नुपर्ने वडाध्यक्ष हरि धनाडीले बताए।

‘यहाँ बीओपी स्थापनाका लागि हामीले निरन्तर पहल गरेका थियौँ, यहाँ नदीमा पुल नहुँदा वर्षात्‌को समयमा आवतजावत गर्न समस्या हुन्छ, नदीसँगै बस्ती जोडिएको छ, हात्तीको आतंक सधैँ हुन्छ, बीओपी स्थापनाले नागरिकलाई सहज हुनेछ’, उनले भने।

सशस्त्र प्रहरीले सीमित स्रोत-साधनका बीच पनि सीमामा सुरक्षा प्रदान गरिरहेको ३५ नं. गण झलारीका एसपी लोकेन्द्र भट्टले बताए। 

उनले भने, ‘अहिले बडुवाल टोलमा पनि बीओपी स्थापना भएको छ, यहाँका बासिन्दालाई यसले सहज गर्नेछ।’

उनले सीमा क्षेत्रमा हुने चोरी तस्करीदेखि विभिन्न समस्या न्यूनीकरण हुने बताए।

बडुवाल टोल भारतसँग सीमा जोडिएको क्षेत्र हो। यहाँ भारतको राष्ट्रिय वनबाट हात्तीलगायत वन्यजन्तु आएर स्थानीयलाई दु:ख दिइरहेका छन्।

बीओपी स्थापना भएपछि अब उक्त त्रासबाट राहत पाउने आशा स्थानीयले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad