दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मंगलबार बिहान सदरमुकाम खलंगाका लागि घरबाट हिँडे।
साथमा गाउँकै २६ वर्षीय जितु विष्ट र उनका दाइ नाता पर्ने ४५ वर्षीय जयदु बुढाथोकी पनि थिए। नारायणले दुम्लिङमा सानो होटल चलाएका थिए। उनकी श्रीमती जानकी ९ महिनाकी गर्भवती छिन्।
श्रीमती जानकीको सुत्केरी हुने दिन नजिकिँदै छ। घरको रासन, लत्ताकपडा र सुत्केरी र नवजजात शिशुका लागि चाहिने आवश्यक सरसामान किनमेल गर्न नारायण खलंगा हिँडेका हुन्।
नेपालतर्फबाट खलंगा आउजाउ गर्ने बाटो सजिलो छैन। कठिनाइ र जोखिमपूर्ण बाटो भएकाले त्यस क्षेत्रका स्थानीय भारतको बाटो भएर खलंगा आउजाउ गर्ने गर्छन्। महाकाली पारी भारततर्फ सडकमा गाडी चल्ने भएकाले त्यस क्षेत्रका स्थानीय सोही बाटोमा गाडी चढेर खलंगा आउने गर्छन्।
व्याँसबासीलाई भारततर्फ जान महाकाली तगारो बन्छ। दुम्लिङमा महाकाली तर्न झोलुङ्गे पुल छैन। तुइनको सहारामा महाकाली तरेर आउजाउ गर्नु पर्ने बाध्यतामा छन्, स्थानीय।
‘मालघाटमा एउटा झोलुङ्गे पुल छ। त्यहाँ पुग्न बाटो राम्रो छैन। ३ घण्टा जति समय लाग्छ। कठिन बाटो भएकाले महाकालीमा लुकीछिपी तुइन हालेर वारिपारी गर्नु पर्ने बाध्यता छ,’ व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धिरेन बुढाथोकी भन्छन्।
मंगलबार नारायण पनि तुइनबाटै महाकाली तर्दै थिए। घरको सरसामान लिन हिँडेका उनी तुइन चुँडिएर उर्लंदो महाकालीमा अलप भए।
वडाध्यक्ष बुढाथोकीका अनुसार नारायणसँगै गएका जितु विष्ट तुइनबाट महाकाली तरेर पारी भारततर्फ पुगिसकेका थिए। उनी तर्दा तुइनको डोरी लतारिएर आधा शरीर भिज्दै पारी पुगेका थिए। भाग्यले बल्लतल्ल जोगिएर जितु महाकाली पारी पुगे।
त्यताबाट उनले महाकाली वारी नेपालतर्फ रहेका नारायण र जयदुलाई नआउन इशारा पनि गरे। तर नारायणले चाल पाएनन्। डोरी अठ्याएर उनी तुइनमा चढिहाले। दुर्भाग्य, महाकालीको बिचमा पुग्दा भारततर्फको खम्बा नै चुँडियो। नारायण उर्लिंदो महाकालीमा हेलिए।
जितुका अनुसार ३ दिन अघिसम्म त्यही ठाउँमा ट्रलीसहितको तुइन थियो। तर एसएसबीले ट्रली हटाएर फेरि नजोड्न चेतावनी पनि दिएका थिए। त्यसपछि पनि स्थानीय लुकीछिपी तारकै लठ्ठाकै भरमा महाकाली तरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलका अनुसार तुइन चुँडिएर महाकालीमा बेपत्ता नारायणको खोजी कार्य जारी छ। तर बर्खाको भेलमा खोजी कार्यमा कठिनाइ भइरहेको उनले बताए।
‘पानी धमिलो छ। त्यसमा भेटिने सम्भावना निकै कम छ,’ उनले भने, ‘हामीले महाकाली किनारका सबै सुरक्षा युनिट परिचालन गरेका छौँ।’
नारायण बुढाथोकी परिवारका एक्ला छोरा हुन। उनको घरमा ५५ वर्षीया आमा कुस्मा, ११ वर्षीय छोरा, १६ वर्षीय बहिनी र गर्भवती श्रीमती छन्।
नारायण गाउँमा होटलसँगै बाख्रा पालन र सिजनमा यार्सागुम्बा पनि संकलन गर्थे। केही महिना अघि मात्रै उनको परिवार यार्सा संकलनबाट फर्किएको थियो।
यसैबाटै हुने कमाइले उनको घरखर्च चल्थ्यो। परिवारको एक्लो सहारा तुइनसँगै चुँडिएर महाकालीमा बिलाएपछि परिवार बिचल्लीमा परेको छ।
Shares

प्रतिक्रिया