सुदूरपश्चिम


जहाँ बाटैमा बच्चा जन्माउन बाध्य छन् महिला

जहाँ बाटैमा बच्चा जन्माउन बाध्य छन् महिला

बाजुराको बुढीगंगा नगरपालिका-७, सिमलकोटकी सिर्जना केसीलाई बाटैमा प्रसूति सेवा दिँदै अनमी विनिता विष्ट।


गोकुल जोशी
कात्तिक १६, २०८२ आइतबार १४:४५, कञ्चनपुर

बाजुराको बुढीगंगा नगरपालिका-७ सिमलकोटकी २३ वर्षीया सिर्जना केसी ९ महिनाकी गर्भवती थिइन्। उनलाई यही कात्तिक १३ गते दिउँसो प्रसूति व्यथाले च्याप्यो।

उनको घरबाट सिमलकोट आधारभूत स्वास्थ्य केन्द्र पुग्न करिब एक घण्टा लाग्छ। 

तर कच्ची सडकमा कमै मात्र गाडी चल्ने हुनाले आवश्यक परेका बेला पाउन मुस्किल पर्छ। 

त्यस दिन सिर्जनाका लागि पनि सवारीसाधन पाइएन। त्यसपछि उनलाई बोकेरै सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रतर्फ लगिँदै थियो।

तर स्वास्थ्य केन्द्र नपुग्दै सिर्जनलाई व्यथाले सतायो। अन्तत: बाटोमै शिशु जन्माउन बाध्य भइन्।

स्वास्थ्य केन्द्रकी अनमी विनिता विष्ट बाटोमै गएर उनलाई सुत्केरी हुन सहयोग गरिन्।

‘घर र बाटोमा सुत्केरी गराउने त हैन। स्वास्थ्य केन्द्रसम्म पुग्न सकेनन्। साह्रै गाह्रो भयो भनेपछि मानवीय सेवा भावले पुगेँ,’ विनिताले भनिन्, ‘बच्चा जन्मिसकेको थियो। सालनाल काटेर व्यवस्थापन गरेँ।’

सिर्जनाले दोस्रो सन्तानका रूपमा छोरा जन्माएकी हुन्। आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ। 

सिर्जनाको परिवारले फोन गर्दा विनिता स्वास्थ्य केन्द्रमा सुत्केरीको हेरचाहमै व्यस्त थिइन्।

स्वास्थ्य केन्द्रमा त्यही बिहान १० बजेतिर बुढीगंगा नगरपालिका-७ झालीकी महिला सुत्केरी भएकी थिइन्।

उनकै सेवामा खटिएकी विनिता बाटैमा सुत्केरी भएको सिर्जनालाई सेवा दिन पुगेकी थिइन्।

गत वर्ष पनि उनले मध्यराति दुई महिलालाई त्यसरी नै बाटोमै प्रसूति सेवा दिएकी थिइन्। 

विनिता तीन वर्षदेखि सिमलकोट स्वास्थ्य केन्द्रमा कार्यरत छिन्।

सिमलकोट स्वास्थ्य केन्द्रमा प्रसूतिदेखि बिरामी उपचारसम्म उनी एक्लैले धानिरहेकी छन्।

स्वास्थ्य केन्द्रमा न कार्यालय सहयोगी छन् न त स्विपर। 

कात्तिक महिनाअघिसम्म यहाँ अहेव, कार्यालय सहयोगी र स्विपर पनि थिए।

तर बुढीगंगा नगरपालिकाले करारका कर्मचारी उनीहरूलाई हटाएपछि विनिता एक्लै परेकी हुन्। 

सुदूरपश्चिम पहाडका महिला भौगोलिक विकटता, अशिक्षा एवं स्वास्थ्य सेवाको पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य छन्।

जसका कारण आमा र बच्चा दुवैको जीवन जोखिममा पर्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad