ad ad

सुदूरपश्चिम


जसले गठबन्धनमा विद्रोह गरे, गठबन्धनकै उम्मेदवार उछिन्दै चुनाव जिते

देउवाको गृहजिल्लाको प्रदेशसभामा कांग्रेस पराजित
जसले गठबन्धनमा विद्रोह गरे, गठबन्धनकै उम्मेदवार उछिन्दै चुनाव जिते

स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी।


गोकुल जोशी
मंसिर ८, २०७९ बिहिबार १३:४८, कञ्चनपुर

डडेल्धुराको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनी ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्। 

प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४ सय ७४ मतले हारे। निकटतम प्रतिस्पर्धी बोहराले १० हजार ९ सय ७० मत मात्रै पाए। 

उनी सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री समेत हुन। ०७४ को चुनावमा समानुपातिकबाट बोहरा सांसद बनेका थिए। 

जोशी यसपटकको चुनावमा उम्मेदवारी दिनुपूर्व नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए। उनले डडेल्धुरामा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचन लड्न चाहेका थिए। तर टिकट पाएनन्। 

त्यसपछि गठबन्धनमा विद्रोह गर्दै उनी स्वतन्त्रका हैसियतले चुनावमा होमिएका थिए। उनलाई नेपाली कांग्रेस बीपीले समेत समर्थन गरेको थियो। 

जोशी दोस्रो प्रयासमा प्रदेश सांसदमा निर्वाचित भएका हुन्। यसअघि उनी ०७४ को चुनावमा डडेल्धुराको प्रदेशसभा २ मा तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए। 

सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभा सदस्यमा चुनिएका छन्। कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट मन्त्री रावल प्रदेश सांसद पदमा विजयी भएका हुन्।

प्रकाश रावल

समाजवादीका रावल निर्वाचित
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका रावल ८ हजार ७१८ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए।

उनका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले ६ हजार ८५८ मत ल्याए। 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले ६ हजार १९५ मत मात्रै ल्याउन सके। 

रावलले नेकपा एकीकृत समाजवादीतर्फबाट गठबन्धनको साझा उम्मेदवार बन्न चाहेका थिए। गठबन्धनको टिकट पाउनका लागि उनले अन्तिमसम्म प्रयास गरे। 

तर उनले टिकट पाएनन्। उनको क्षेत्रमा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई गठबन्धनले टिकट दियो। 

त्यसपछि रावलले गठबन्धनमा विद्रोह गरेर एकल उम्मेदवारी दिएका थिए। गठबन्धनले त्यसपछि कञ्चनपुर ३ को प्रदेश १ लाई मित्रवत् प्रतिस्पर्धामा राखेको थियो। 

यद्यपि, गठबन्धनको आधिकारिक उम्मेदवारको झल्को दिने गरेर माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट मत माग्न प्रतिनिधिसभाका गठबन्धनका साझा उम्मेदवार रमेश लेखकसँगै कार्यक्रममा हिँडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .