ad ad

सुदूरपश्चिम


जनयुद्धका दुई कमाण्डरलाई हराएर उदाएका गंगाराम

जनयुद्धका दुई कमाण्डरलाई हराएर उदाएका गंगाराम

गोकुल जोशी
मंसिर १४, २०७९ बुधबार १४:५१, महेन्द्रनगर

कैलालीका तीन प्रतिनिधि सभा क्षेत्रमा पुराना राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टी उदाएको छ। 

स्थानीय तह चुनावमा पुराना राजनीतिक शक्तिलाई पछाडि पार्दै बलियो शक्तिका रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा संसदीय चुनावमा पनि त्यो पकड कायम राखेको छ। 

टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा स्थानीय तह चुनाव अघि नागरिक उन्मुक्ति खुलेको थियो।

नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेर पुराना नेतालाई हराउनेमध्येका एक हुन्– गंगाराम चौधरी। उनी कैलाली क्षेत्र नं. ३ प्रतिनिधि सभातर्फ निर्वाचित भए।

पहिलो पटक चुनावको सामना गरेका चौधरीले ‘हेभिवेट नेता’लाई स्तब्ध बनाएर संसदको ढोका खोल्न सफल भए। चौधरी ५ हजार ३७१ मतान्तरले विजयी भएका थिए। उनले २३ हजार १२० मत ल्याए। 

उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका थिए। नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाए।

माओवादीका कृष्णकुमार र एमालेका गौरीशंकर तत्कालीन जनयुद्धका बेलाका सहयोद्धा थिए। तिनै दुई पूर्व सहकर्मी यसपटकको चुनावमा आमनेसामने भए।

ती सहकर्मीहरुको भिडन्तमा नागरिक उन्मुक्तिका गंगारामले चुनौती पेश गरे। पूर्वयोद्धाको स्पर्धा छिचोल्दै उनले सफलता समेत हासिल गरे।
यसले एमालेका गौरीशंकर चौधरीको ह्याट्रिक गर्ने सपना साकार हुन पाएन। ०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेर गौरीशंकरले चुनाव जितेका थिए।

त्यतिमात्रै होइन, त्यस बेला उनले कांग्रेसका रामजनम चौधरीको विजयी यात्रामा ब्रेक समेत लगाएका थिए।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गौरीशंकरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले। तत्कालीन नेकपा खारेजीपछि उनी एमालेमा समाहित भएका थिए। त्यसअघि ०७० सालको चुनावमा उनी साविक क्षेत्र नं. ४ मा विजयी भएका थिए।

गंगारामका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले कमब्याक गर्न सकेनन्। कृष्णकुमार ०६४ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए।

यसपटक पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बन्दासमेत कृष्णकुमारले हार टार्न सकेनन्।

पुराना राजनीतिका नेताप्रतिको असतुष्टिले कैलाली ३ मा नयाँ अनुहारलाई मौका दिइएको बताउँछन– लक्ष्मीनारायण चौधरी।

‘सबैलाई मौका दिएर काम हेरिसक्यौं, कसैले पनि आफ्नो लागि बाहेक जनताका लागि काम गर्न सकेनन्,’ उनी भन्छन्, ‘त्यसैले यसपटक नयाँलाई मौका दिइएको छ, यो लहर अहिले चलेको छ।’

नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका ४४ वर्षीय गंगाराम भजनी नगरपालिका–२ मोहनपुरका बासिन्दा हुन्। 

०७४ को निर्वाचनदेखि उनी राजनीतिको अग्रपंक्तिमा देखिए। त्यसअघि उनी कांग्रेसमा आवद्ध रहेका थिए। 

०७४ को निर्वाचनताका तत्कालीन राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन खटिने एक उनी पनि थिए। गंगाराम अहिले नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .