ad ad

विश्वकप विशेष


विश्वकप इतिहासका १० उदेकलाग्दा नतिजा

विश्वकप इतिहासका १० उदेकलाग्दा नतिजा

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २०:५१, काठमाडौँ

फिफा विश्वकप २०२२ सुरु भएको केही दिन मात्र हुँदैछ। तर, हामीले विश्वकप इतिहासकै आश्चर्यजनक नतिजा देखिसकेका छौँ। त्यो पनि एउटा हाेइन, दुईदुई वटा।

समूह सीको पहिलो खेलमा मंगलबार साउदी अरबले अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्यो। बुधबार चार पटकको च्याम्पियन जर्मनीलाई जापानले हरायो।

मंगलबारको हारअघि अर्जेन्टिना ३६ वटा अन्तर्राष्ट्रिय खेलमा अपराजित थियो भने साउदी अरब फिफाको वरीयतामा ५१ औँ स्थानमा थियो। ग्रेसनोट नामक अनुसन्धान कम्पनीका अनुसार साउदीले अर्जेन्टिनालाई हराउने सम्भावना मात्र ८.७ प्रतिशत थियो। त्यसैले यो नतिजा विश्वकप इतिहासकै सबैभन्दा आश्चर्यजनक र अनपेक्षित बन्न पुगेको छ। जसले १९५० मा इंग्ल्यान्डमाथि अमेरिकी विजयलाई विस्थापित गरेको छ। 

ग्रेसनोटका अनुसार विश्वकप इतिहासका १० सबैभन्दा उदेकलाग्दा खेलहरु यसप्रकार छन्ः

१. साउदी अरब २–१ अर्जेन्टिना (८.७ प्रतिशत सम्भावना), २०२२
पहिलो हाफमा अर्जेन्टिनाले पेनाल्टीमार्फत अग्रता लिएको थियो। तर, त्यसपछिका तीन गोल लगातार अफसाइडका कारण रद्द भए। हाफ टाइमलगत्तै पाँच मिनेटभित्र  साउदी अरबले दुई गोल गर्दा अर्जेन्टिना हतप्रभ बन्यो।

साउदीको पहिलो गोल सालेह अल सेहरीले गरे। त्यसपछि सलिम अल दसरीले पनि आकर्षक गोल गरे।

साउदीको दोस्रो गोलपछि पैँतालीस मिनेटभन्दा लामो खेल भयो तर अर्जेन्टिनाले गोल फर्काउन सकेन। महानतम खेलाडी मानिने लियोनल मेस्सीको टोली हार्न पुग्यो। र, यो खेलले विश्वकपको सबैभन्दा उदेकलाग्दो नतिजाको स्थान लियो।

२. अमेरिका १–० इंग्ल्यान्ड (९.५ प्रतिशत), १९५०
ब्राजिलमा भएको १९५० को विश्वकपमा इंग्ल्यान्ड प्रमुख दाबेदार मानिएको थियो। तर, ३८ औँ मिनेटमा जोइ गेट्जेन्सले हेडिङमार्फत गोल गर्दै अमेरिकालाई जिताए।

त्यसपछि विश्वकपमा फेरि अर्को खेल जित्न अमेरिकालाई ४४ वर्ष लाग्यो।

३. स्विट्जरल्यान्ड १–० स्पेन (१०.३ प्रतिशत), २०१०
६० वर्षअघिको इंग्ल्यान्डजस्तै २०१० को विश्वकपमा प्रमुख दाबेदार थियो स्पेन। खेलमा स्पेनले गोलपोस्टमा २२ प्रहार गरेको थियो। तर, गेल्सन फर्नान्डेसले ५२ औँ मिनेटमा गोल गर्दा स्पेन हार्न पुग्यो।

यद्यपि, स्पेन त्यो हारबाट उत्रिन सफल भयो र तीन हप्तापछि सो वर्षको विश्वकप उपाधि पनि उचालिछाड्यो।

४. अल्जेरिया २–१ पश्चिम जर्मनी (१३.२ प्रतिशत), १९८२
यो अल्जेरियाको पहिलो विश्वकप खेल थियो। जुन आजसम्मकै उसको सबैभन्दा गतिलो नतिजा हो। सो विश्वकपको बलियोमध्येको एउटा टिम जर्मनीलाई हराउन अल्जेरियाका लख्दर बेलुमीले एक अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे।

यति बलियो सुरुवातका बाबजुद अल्जेरिया समूह चरणबाट माथि उक्लिन सकेन।

५. घाना २–० चेक रिपब्लिक (१३.९ प्रतिशत), २००६
सो विश्वकपमा चेक रिपब्लिकलाई डार्क हर्स मानिएको थियो। घाना भने विश्वकपमा पहिलो खेल खेल्दै थियो। र समूह चरणमा उसले इटलीलसँग पराजय पनि बेहोरिसकेको थियो।

तर, खेलको ७० औँ सेकेन्डमै घानाले अग्रता लियो र सहज जित हात पार्यो। 

६. उरुग्वे २–१ ब्राजिल (१४.२ प्रतिशत), १९५०
त्यो वर्ष चार टोलीबीच राउन्ड रोबिन ढाँचामा फाइनल खेलाइएको थियो। ब्राजिल अंकतालिकाको शीर्षमा थियो। उसले हार मात्रै टारे आफ्नै मैदानमा विश्वकप उपाधि उचाल्ने थियो।

खेल सकिन २५ मिनेट बाँकी हुँदासम्म ब्राजिलको बलियो पकड देखिन्थ्यो। तर, खेल सकिनुअघि दुई लाख दर्शकमाझ दुई गोल गर्दै उरुग्वेले ब्राजिललाई स्तब्ध बनायो।

७. दक्षिण कोरिया २–० जर्मनी (१४.४ प्रतिशत), २०१८
डिफेन्डिङ च्याम्पियन जर्मनीले यसअघि नै मेक्सिकोसँगको खेल हारिसकेको थियो। तैपनि दक्षिण कोरियाबाट पराजित हुँदा जर्मनीलाई ठूलो झड्का लाग्यो।

खेल शून्यमै बराबरी हुन लागेको थियो। तर, किम योङ गोनले इन्जुरी समयको चौथो मिनेटमा गोल गरे। दुई मिनेटपछि नै सन ह्यिुन मिनले अर्को गोल गरे। तर, मेक्सिको स्विडेनसँग हार्दा दक्षिण कोरिया अर्को चरणमा जान सकेन।

र, १९३८ पछि पहिलो पटक जर्मनी समूह चरणबाट अगाडि जान सकेन।

८. वेल्स २–१ हंगेरी (१६.२ प्रतिशत), १९५८
हंगेरीले त्यो वर्ष वेल्ससँग १–१ गोलको बराबरी खेलिसकेको थियो। यो नकआउट चरणमा जान खेलिएको प्ले अफ थियो।

हंगेरीले ३३ औँ मिनेटमा अग्रता लिएको थियो। तर, हाफ टाइमको दस मिनेटपछि पहिलो र समय सकिन १४ मिनेट बाँकी छँदा दोस्रो गोल गर्यो।

९. उत्तरी आयरल्यान्ड १–० स्पेन (१६.५ प्रतिशत), १९८२
आयोजक स्पेनलाई समूह विजेताको रुपमा अर्को चरणमा जान ड्र मात्र आवश्यक थियो। 

तर, दोस्रो हाफको सुरुमै उत्तरी आयरल्यान्डका गेरी आर्मस्ट्रङले प्रसिद्ध गोल गर्दै स्पेनलाई पराजित गरे।

१०. सेनेगल १–० फ्रान्स (१७.३ प्रतिशत), २००२
फ्रान्स विश्वविजेता र युरोपेली च्याम्पियन थियो। जबकि सेनेगल सोही वर्ष विश्वकपमा डेब्यु गर्दै थियो।

सेनेगलका कयौँ खेलाडी फ्रान्सका क्लबहरुको युवा टोलीबाट आएका थिए। २३ खेलाडीमध्ये २१ जना फ्रान्सका क्लबमा खेलिसकेका थिए।

३० औँ मिनेटमा पापा बुबा दियोपले गोल गरे। फ्रान्स समूह चरणको पुछारमा झर्यो। सेनेगल क्वार्टर फाइनलसम्म पुग्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .