कर्णाली


कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै, त्यसपछि मन्त्रिमण्डल विस्तार

यस्तो छ मन्त्रालयको भागबन्डा
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै, त्यसपछि मन्त्रिमण्डल विस्तार

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार ११:४, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत माग्ने भएका छन्। मुख्यमन्त्री कँडेलले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने भएका हुन्। 

मुख्यमन्त्री पदमा नियुक्ति पाएको दुई सातापछि मुख्यमन्त्री कँडेलले  विश्वासको मत लिन लागेका हुन्। 

उक्त प्रयोजनका लागि उनले पठाएकाे पत्र प्रदेशसभा सचिवालयले मंगलबार नै दर्ता गरिसकेको छ।

यसअघि सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डाका विषयमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको थिएन।

सहमतिअनुसार एमालेले मुख्यमन्त्री पदसहित चार मन्त्रालय र नेकपा माओवादी केन्द्रले चार मन्त्रालय पाएका छन्।

माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाएको छ भने एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।

कँडेल गत चैत २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन्। विपक्षीतर्फ कांग्रेसका १४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्। 

मुख्यमन्त्रीले विश्वासको बहुमत पाउन २१ सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता गठबन्धनसँग यसका लागि पर्याप्त २४ सांसद छन्। अत: मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउने निश्चित छ।

मुख्यमन्त्री कँडेलले हालसम्म माओवादी केन्द्रबाट एक जना बिनाविभागीय मन्त्री मात्र बनाएका छन्। आज विश्वासको मत लिएपछि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी उनले गरेका छन्। 

एमाले प्रदेश संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कँडेलले पार्टीबाट थप ककसलाई मन्त्री बनाउनेलगायत विषयमा निर्णय गर्न आज दिउँसो १ बजेका लागि दलको बैठक बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .