भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले पुनः इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन खोलेको छ। सर्वोच्चमा परेको रिट खारेजीसँगै विभागले वाग्मती प्रदेशमा दर्ता भएका सवारीको लागि आवेदन खुल्ला गरेको हो।
२०७४ फागुनमा अधिवक्ता भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले सुरुमा काम रोक्न अन्तरिम आदेश दिए पनि गत मंसिरमा उक्त रिट खारेज गरेको थियो।
विभागले सूचना जारी गर्दै साबिक वाग्मती अञ्चल र हाल वाग्मती प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सरकारी, संस्थानका र निजी स्वामित्वका सवारीमा साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको बताएको छ।
इम्बोस्ड नम्बर प्लेट जडानको लागि आइतबारबाट अनलाइन आवेदन खुलेको छ। राजस्व चुक्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने जनाएको छ।
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडानका लागि मोटरसाइकल २५ सय, तीन पांग्रे सवारीका लागि २९ सय, चार पांग्रे सवारीका लागि ३२ सय र ठूला सवारीका लागि ३६ सय रुपैयाँ बुझाउनुपर्नेछ।
दुईपांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, ३ पांग्रे सवारी र चार पांग्रे सवारीका लागि सवारी परीक्षण कार्यलय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यलय एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवनमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ।
अनलाइन आवेदनको लागि सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटबापतको शुल्क जम्मा गरेको भौचरसहित आवश्यक कागजात अनलाइन आवेदनको प्रिन्ट–प्रतिसहित सम्बन्धित निकायबाट प्रमाणीकरण गर्नुपर्छ।
इम्बोस्ड नम्बर प्लेटका लागि दिएको आवेदन सम्बन्धित कार्यालयमार्फत प्रमाणीकरण भएपश्चात् मात्र इम्बोस्ड प्लेट छाप्ने प्रक्रिया सुरु हुने र प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएसमार्फत दिने विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार अदालतले रोक लगाउनुपूर्व सरकारी र निजी दुवैमा गरी करिब २ हजार सवारीसाधनमा जडान भइसकेको छ। २०७३ मा डेकाटुर टाइगरलाई करिब ४ करोड ३७ लाख ८७ हजार ५०० डलरमा पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाउन जिम्मा दिएको थियो।
Shares

प्रतिक्रिया